यी तीन सञ्चारगृहलाई नेपाल पत्रकार महासंघले पठायो चेतावनी पत्र

patrakar mahasang
लोकपाटी न्यूज

काठमाडौं। नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको छ। माग पूरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको महासंघले पत्र पठाएको छ।

महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई चेतावनीसहितको पत्र पठाएको हो। महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले गरेको पहलबाट समस्या सम्बोधन हुन नसकेकाले कात्तिक २६ गते पहिलो चरणमा सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिइएृको स्मरण गराइएको छ।

पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ। महासंघका सचिव तथा श्रमजीवी हित प्रबद्र्धन समितिका संयोजक रामप्रसाद दाहालकाअनुसार पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र माग पूरा नगरिए महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीपत्र पठाइएको हो।

 महासंघको शुक्रबार धादिङमा बस्ने उपलब्ध केन्द्रीय समितिको बैठकले आन्दोलनको स्वरुप र मिति तय गर्ने जनाइएको छ।  प्रेस सम्बद्ध संगठनहरुबाट दोस्रो चरणमा सम्वद्ध सञ्चार गृहका सञ्चालकहरुको घर घेराउदेखि सञ्चारगृहमा सत्याग्रह र आमरण अनसनसम्म गर्न महासंघलाई सुझाव प्राप्त भएकाले सोही सुझावका आधारमा आन्दोलनको स्वरुप तय हुने सचिव दाहालले जानकारी दिएका छन्।

महासंघले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि वार्ता संवाद, पत्राचार, कानुनी संघर्षदेखि आन्दोलनसम्म गर्दै आएको छ। पछिल्लो समय कोरोना महामारीको लाभ लिँदै नियमित पारिश्रमिक नदिने, पारिश्रमिक आधा घटाउने, निष्काशन गर्ने, फोर्स लिभमा राख्ने, अनुचित सरुवा गर्नेलगायतका समस्या देखिएपछि महासंघ त्यसविरुद्ध आन्दोलित छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको टोलीले आन्दोलनको रणनीति बनाउने र परिचालन गर्ने गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्