काठमाडौं। सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ।
६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो।
आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०/७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो।
कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे। उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए।
विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ। विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ।राजधानी दैनिकबाट



लोकपाटी न्यूज

