काठमाडौं। हलिउड अभिनेत्री ५७ वर्षकी केली प्रेस्टनको निधन भएको छ। केलीको स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले जानकारी दिएका हुन्।
प्रेस्टनको आइतबार बिहान निधन भएको परिवारका प्रतिनिधिले पिपुल म्यागजिनलाई बताएका छन्। ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी प्यारी श्रीमती केली स्तन क्यान्सरसँगको दुई वर्षको युद्धमा पराजित भएकी छन्। उनले क्यान्सरसँग निकै बहादुर भएर लडिन् सबैको माया र साथले।’
प्रेस्टन र ट्राभोल्ट विगत २९ वर्षदेखि वैवाहिक सम्बन्धमा थिए। प्रेस्टनले ट्वीन्स, फ्रम डस्क टिल डन, जेरी मागुइरी, द क्याट इन ट ह्याट सहितका चलचित्रमा काम गरेकी छन्। उनले श्रीमान ट्राभोल्टसँग ब्याटलफिल्ड अर्थ तथा गोट्टीमा काम गरेकी थिइन्। ट्राभोल्टले श्रीमती प्रेस्टनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। उनीहरुका एला ब्लेउ र बेन्जामिन नाम गरेका अरु दुई सन्तान छन्।



लोकपाटी न्यूज

