काठमाडौं, २४ असार। नेपाल-भारत सीमामा इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च पुगेको छ। सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटर ४० रूपैयाँसम्म सस्तो रहेको आयल निगमले जनाएको छ। यो जुलाई ५ को मूल्यसूचीअनुसार हो।
रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ पर्छ भने डिजलको मूल्य १ सय २४ छ। वीरगञ्जमा पेट्रोल ९९ रुपैयाँ ५० पैसा र डिजेल ८५ रुपैयाँ ५० पैसामा पाइन्छ। पेट्रोल र डिजलको मूल्यअन्तर झापासँग सीमा जोडिएको सिलिगुढीमा क्रमशः ३६ र ३७ रुपैयाँ छ। विराटनगरको तुलनामा जोगबनीको मूल्य क्रमशः ४० र ४२ रुपैयाँ बढी छ, जलेश्वरको तुलनामा सीमावर्ती बजारमा ४० र ४१ रुपैयाँ महँगो छ।
भैरहवाभन्दा सुनौलीमा ३६ र ३३ रुपैयाँ महँगो छ। पेट्रोल र डिजेलको मूल्य नेपालगन्जभन्दा रुपैडिहामा ३६ र ३३ रुपैयाँ बढी छ र धनगढीभन्दा पलियामा ३६ र ३३ रुपैयाँ बढी पर्छ। लकडाउन खुकुलो हुँदै जाँदा भारतभन्दा नेपालमा तेलको मूल्य सस्तो हुँदा चोरी निकासी हुने, सवारीसाधन आएर इन्धन भरेर जाने जोखिम बढेको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय वर्तमान सीमा मूल्य अन्तर हालसम्मकै उच्च रहेको बताए।
मेसम्म पनि सीमाको मूल्यअन्तर ३० रूपैयाँभन्दा उकालो लागेको थिएन। अहिले लकडाउन खुल्दै गएको र मूल्य अन्तर बढ्दै गएका कारण सीमामा इन्धन तस्करी हुने डर बढेको उनले बताए। यसरी मूल्य अन्तर बढ्दा नेपाली पम्पमा भीड बढ्ने, मूल्य कम भए नेपालीले नपाउने सम्भावना बढेर जानसक्ने उनको जिकिर छ। भारतभन्दा सस्तो हुँदा चोरी निकासी हुने गरेको छ भने भारतीय सवारीसाधन नेपाल आएर इन्धन भरेर जाने गर्छन्। तर लकडाउनको समयमा भने पहिलाभन्दा कम सवारीसाधन आवतजावत गरेका छन्।
भारतभन्दा सस्तो मूल्य पर्ने भएकोले चोरी निकासी हुने र त्यसलाई नियन्त्रण गर्न बल नै परिचालन गर्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ। सरकारले सीमावर्ती मूल्य अन्तर कम गर्न पटकपटक इन्धनको मूल्यमा कर तथा शूल्क थप गर्दै आएको बताएको छ। सीमा मूल्यअन्तर कम गर्न भन्दै सरकारले दुईपल्ट कर बढाएको छ। सरकारले मन्त्रिपरिषद् बैठक तथा बजेटमार्फत् इन्धनमा कर बढाएको थियो।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्ने पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाएको थियो भने गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत् हवाइ इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थमा लाग्ने भन्सार दर १० रुपैयाँले बढाएका थिए। इन्धनमा संसारमै सर्वाधिक कर भने भारतले लगाउने गरेको छ । भारतले पेट्रोल र डिजलमा प्रतिलिटर भारु ५० (नेपाली रुपैयाँ ८०) सम्म कर लगाउने गरेको छ। नेपालमा पनि ५३ रुपैयाँ कर छ । खुला सिमानाका कारण सीमा वारिपारि मूल्य फरक भएमा व्यापार विचलन हुने डर सरकारको थियो। सोहीकारण पूर्वाधार कर बढाइएको सरकारको प्रतिक्रिया छ।
त्यसबेला नै सीमावर्ती भारतमाभन्दा नेपालमा पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर करिब १६ रुपैयाँ र १५ रुपैयाँ सस्तो भए पनि मूल्य नबढाइएको निगम बताउँछ। चैतको २ गते पेट्रोल २ रुपैयाँले सस्तियो भने लकडाउन सुरु भएको केही दिनमै प्रतिलिटर १० रुपैयाँ सस्तो भयो। सीमाको मूल्यअन्तर कम गर्ने भन्दै अर्थमन्त्री बजेटमार्फत् फेरि भन्सार महसुल बढाए।
सीमावर्ती मूल्य अन्तर १० रुपैयाँ कम गर्न भन्सार शुल्कमा १० रुपैयाँ बढाइयो। तर, निगमले सोअनुसार बिक्री मूल्य समायोजन गरेन। त्यसो नगर्नुको प्रभाव यतिखेर सीमाको मूल्यअन्तरमा देखिएको छ। जुन ६ तारिखदेखि भारतीय बजारमा तेलको मूल्य बढ्दा सीमाअन्तर झनै फराकिलो बनेको निगमले जानकारी गराएको छ। जुन ६ मा रक्सौलभन्दा नेपालमा पेट्रोल र डिजल क्रमशः २८ र २७ रुपैयाँ सस्तोमा पाइन्थ्यो। त्यो अन्तर जुन ३० मा क्रमशः ३९ र साढे ४० रुपैयाँ पुग्यो। जुलाई १ तारिखदेखि नेपालमा इन्धनको मूल्य बढ्यो। भारतमा भने यथावत हुँदा अन्तर नेपालमा बढेको मूल्यअनुसार सीमाअन्तर कम भएको छ।
तेल धेरै बिक्री भए व्यवसायी र आयल निगमलाई फाइदा हुने र सरकारलाई पनि राजस्व संकलनमा सहजता हुने भए पनि भारतीय सवारी नेपाल आएर इन्धन भरिदिँदा धेरै बेफाइदा हुने निगमको भनाइ छ। निगमका प्रवक्ता उपाध्याय भन्छन्, ‘सीमामा सस्तो हुनुका धेरै बेफाइदा छन्। नेपाली प्रयोजनका लागि आयात भएको तेल भारतीयले प्रयोग गर्नाले अनावश्यक अधिक आयात हुन्छ जसको चाप विदेशी मुद्रा सञ्चितिमा पर्न जान्छ। मूल्य अन्तर बढी हुनाले भारतीयले लाभ उठाउँदा नेपाली नै सुविधाबाट बञ्चित हुन्छन्। ग्राफमा भने खपत अस्वाभाविकरूपले बढेको देखिन्छ।’



लोकपाटी न्यूज

