काठमाडौं, २३ असार। मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर हाल मनसुनी वायुको प्रभाव रहेका कारण मौसम बदली भएको हो।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली भएको छ। यस्तै बाँकी भू–भागमा सामान्य बदली रहेको मौसमविदले बताएका छन्। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
मंगलबार राति पनि देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन्।



लोकपाटी न्यूज
