काठमाडौं। जुली हेल्म्सका लागि उत्तरी फ्रान्सको स्ट्रासबर्ग विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भएका केही बिरामीबाट यो अवस्था सुरु भयो। केही दिनमै कक्षमा भएका सबै बिरामीलाई कोभिड-१९ भएको थियो र उनले ध्यान तानेको कुरा श्वासप्रश्वासमा देखिएको असहजता मात्रै थिएन।
‘उनीहरू ज्यादै उत्तेजनामा थिए र धेरैमा भ्रमित हुने वा नानाथरी कुरा गर्ने जस्ता मस्तिष्कसम्बन्धी समस्या थिए,’ उनी भन्छिन्। ‘यो एकदमै असामान्य थियो। धेरै डरलाग्दो पनि थियो किनभने उपचाररत धेरैजसो बिरामी ३० देखि ५० वर्षसम्मका थिए। एक जना त १८ वर्षका थिए।’
हेल्म्स र उनका सहकर्मीहरूले न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा एउटा सानो अनुसन्धान प्रकाशित गरेका छन् जसमा उनीहरूले कोभिड-१९ का बिरामीमा देखिएको मस्तिष्कसम्बन्धी समस्याहरूको विवरण छ। ती सबै समस्या मस्तिष्कमा भएको क्षतिसँग सम्बन्धित छन् र फेब्रुअरीमा चीनको वुहानका बिरामीहरूमा अध्ययनकर्ताहरूले देखेको समस्यासँग मेल खान्छ।
अहिले विश्वभरि गरिएङ्का ३०० भन्दा बढी अध्ययनमा कोभिड-१९ का बिरामीमा मस्तिष्कसम्बन्धी असामान्य अवस्था रहेको पत्ता लागेको छ। ती अवस्थाहरूमा टाउको दुख्ने, गन्ध सुँघ्ने क्षमतामा ह्रास र झमझम हुने खालका लक्षणदेखि बोल्न असहज हुने, मस्तिष्कघात र छारे रोगका लक्षणसम्म छन्। हालैका दिनमा श्वासप्रश्वाससम्बन्धी रोग लगाउने मानिएको कोरोनाभाइरसले मिर्गौला, मृटु र अन्य लगभग शरीरका सबैअङ्गलाई असर गर्ने थाहा भएको छ।
‘हामीलाई यो थाहा छैन कि अन्य भाइरसले भन्दा कोरोनाभाइरसले मस्तिष्कलाई बढी क्षति पुर्याउँछ कि पुर्याउँदैन तर हामीले यो धेरै मात्रामा देखिरहेका छौँ,’ स्नायुरोग विशेषज्ञ एलिसा फोरीले भनिन्। ‘सङ्क्रमणका बिरामीहरू बढिरहँदा हामीले सामान्य खाल लक्षण मात्रै होइन, असामान्य खालका लक्षणहरू पनि देखिरहेका छौँ र ती सबै एकै पटक देखिरहेका छौँ जुन हामीले अहिलेसम्म जीवनकालमा देखेका थिएनौँ।’
कोरोना भाइरस सङ्क्रमण देखिएका कतिमा मस्तिष्क सम्बन्धी समस्या देखिन्छ भन्ने कुराको तथ्याङ्क फरक छ तर आधा जसो व्यक्तिमा यस्ता समस्या देखिएको बताइन्छ। यस्तो समस्याको पहिचान गर्न कतिपय अवस्थामा चिकित्सकहरू सक्दैनन् किनभने यस्ता कतिपय अवस्थाका लक्षण धेरै देखिँदैन र सघन उपचार कक्षको वातावरण एवम् औषधिले पनि भूमिका खेल्छन्। ‘कोरोनाभाइरस सङ्क्रमण भएका धेरै व्यक्तिको देखिने एउटै लक्षण भनेको भ्रमित हुनु हो, ‘जोन्स हप्किन्स मेडीसीनका सह-प्राध्यापक रोबर्ट स्टेभेन्सले भने। ‘हामी मस्तिष्कसम्बन्धी रोगको महामारीको सँघारमा छौँ।’ बीबीसी



लोकपाटी न्यूज

