काठमाडौं, ५ असार। सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलका लागि प्रतिबन्ध लगाएको छ। शुक्रबार गृह मन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो।
यस्तै, गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ आदि कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ। अनुमति प्राप्त अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिहरूले न्यूनतम दुई मिटर सामाजिक दूरी कायम गर्नुपर्नेछ। तोकिएको वा भारतबाहेक अन्य मुलुकबाट नेपाल प्रवेश गर्नेको हकमा स्वेच्छिक क्वारेन्टाइन वा होटल क्वारेन्टाइन बस्न सकिनेछ।
यसरी बस्दा सार्वजनिक शान्ति र सुव्यवस्थालाई समेत पालना गर्नुपर्नेछ । साथै, क्वारेन्टाइनमा बस्दा समेत तोकिएको सामाजिक दूरी कायम गर्नु, गराउनुपर्ने गृह मन्त्रालयले बताएको छ। त्यस्तै, मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारका गाडीबाटट यात्रु ओसारपसार गर्न पनि गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ।





लोकपाटी न्यूज

