अस्मिना पाण्डे/ बुटवल, १ असार। बुटवल उपमहानगरपालिकाले पाँच वर्षे आवधिक योजना अन्तरर्गत भैरहेका कामको समीक्षा तथा उपलब्धि बारे जानकारी दिएको छ। सोमबार कार्यालय परिसरमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको प्रवन्धसहित उपमहानगरले पत्रकार सम्मेलनमार्फत् हालसम्म गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ।
आवधिक, दीर्घकालीन र गौरवका आयोजनाहरु अगाडि बढाएको, कोभिड(१९ को महामारीका विरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्नुका साथै महामारीको यो अवधिसम्म भएका खर्चको समेत विवरण सार्वजनिक गरेको छ। अढाइ वर्षे मध्यावधि अवधिमा नगरभित्र भएका पूर्वाधार विकास, विकासे योजना, नगर गौरव, प्रदेश गौरव र राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको प्रगतिलागायतका विषयमा उपमहानगरले जानकारी गराएको छ।
उपमहानरले पाँच वर्षे आवधिक र १५ वर्षे दीर्घकालीन विकास योजना, नगरको एकीकृत विकास गुरुयोजना समेत तयार पारेर तिनलाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए। महामारीको बेलामा पनि बुटवलमा विकासे कामहरु सुरक्षा प्रवन्धसहित सुचारु रहेको र लकडाउनका बेलामा समेत स्वास्थ्य सुरक्षासहित दैनिक ज्यालादारीका कामलाई अगाडि बढाइएको प्रमुख सुवेदीले बताए। उपमहानगरले मध्यावधिसम्म भए गरेका कामहरुको संक्षिप्त विवरण प्रमूख सुवेदी, उपप्रमूख गुमादेवी आचार्यको उपस्थितिमा प्रमूख प्रशासक अधिकृत चक्रपाणी शर्माले प्रस्तुत गरेका थिए।
त्यसअवसरमा संरचना, सेवाप्रभाव, सहरी तथा पूर्वाधार विकास, शिक्षा, स्वस्थ्य, सीप, रोजगार, उद्यमशीलता, विपद् ब्यवस्थापन, खानेपानी, सरसफाई, वातावरण, कृषिको क्षेत्रमा उल्लेख्य काम भएको प्रमूख सुवेदीले बताए। बुटवलमा सडक तथा यातायाततर्फ कालिकापथ, श्रवणपथ आन्तरिक बाइपास, बुटवल चक्रपथ, ट्रान्सपोर्ट भिलेज, कच्ची सडकलाई ग्राभेल तथा पिचमा स्तरोन्नति र सुखौरा खोला व्यवस्थापन परियोजनाका काम अगाड बढिरहेका छन्।
उपमहानगरमै हालसम्म श्रवणपथ, मिलनचोक, थकालीसमाज पुल, उजिरसिंह टोल पुल, सतगगढी खोला पुल, चन्द्रनगर, ताइवान टोललगायतका विभिन्न ११ स्थानमा पुल निर्माण भएका छन्।
उपमहानगरले पर्यटनतर्फ जितगढी किल्लाको गुरुयोजना बनाएर काम गरिरहेको छ। जितगढीलाई राष्ट्रिय धरोहरका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम भइरहेको प्रमूख सुवेदीले बताए।यसैगरी पर्यटनतर्फ बुटवलको महत्वपूर्ण सिमसारका रुपमा रहेको बैठौलिया कपरकट्टी ताल, नरेनापुर धाम, मिलनपार्क, रामापिथेकश पार्क, लक्ष्मीपार्कलगायतलाई जोडेर पर्यटन सर्किट बनाइरहेको छ। यी पार्कहरुको गुरुयोजना नै बनाएर सोही अनुरुप काम भइरहेको प्रमुख सुवेदीले जानकारी दिए। बुटवलले हिलपार्कलाई बुद्धपार्कका रुपमा विकास गर्न लागिरहेको छ। यसका लागि गुरुयोजना तयार भएको छ। गुरुयोजना अनुसार हिलपार्कमा बिसाल बुद्धको प्रतिमा निर्माण गर्ने र त्यहीँ ध्यान गर्न मिल्नेगरि ध्यान केन्द्र निर्माण गरिने छ।
बुटवलले यसअवधिमा उपमहानगरको प्रशासनिक भवन, बसटर्मिनलमा बहुउद्देश्यीय सपिङ कम्प्लेक्स, पाँचवटा स्वास्थ्य चौकीका भवन निर्माण तथा संरचनाको स्तरोन्नति, १९ वटा विद्यालय भवन निर्माण गरेको जनाएको छ।
यस्तै वडा नं.२, ५, १०, १४ र १५ मा वडा कार्यालय भवन निर्माण र भवन स्तरोन्नतिका काम सम्पन्न भएका छन्। भने वडा नं. ९, ११, १२ र १३ मा अहिले नयाँ भवन निर्माणको काम भइरहेको छ। खेलकुदतर्फ वडा नं. सेमलार बहुउद्देश्यीय कभर्डहल, नरेनापुर क्रिकेट रंगशाला, उजिरसिंह जवई फुटवल रंगशाला (प्रदेश सरकारको सहकार्य), सिद्देश्वरीमा बहुउद्देश्यीय खेल मैदान, वडा नंं. १ र ११ मा कभर्डहल निर्माणका काम सम्पन्न भएको उपमहानरगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
कृषितर्फ उपमहानगरमा प्रदेश सरकारको सहकार्यमा बुटवल आधुनिक बधशाला निर्माणका लागि डीपीआर तयार भएको छ। अबको केही दिनमै शिलन्यासको तयारी भएको छ। यस्तै कन्द्र सरकारको सहकार्यमा सेमलारमा आधुनिक कृषि उपज केन्द्र निर्माण हुनेछ । यसको पनि डीपीआर तयार भइ निर्माणको काम सुरु हुने चरणमा पुगेको छ।
यसैगरी एक वन बहुपोखरी निर्माण कार्यक्रम अन्तर्गत विभिन्न वनहरुमा पोखरी निर्माण भएका छन्। ग्रामिण विद्युतिकरण र उज्यालो सहर कार्यक्रम अन्तर्गत १९ वटा ट्रान्सफर्मर, सात हजार मिटर विद्युत लाईन विस्तार, सौर्यबत्ती जडान, उज्यालोसहितका प्रतिक्षालय निर्माणका काम सम्पन्न भएका छन्।
उपमहानगरले पहिलो वर्ष ऐन कानूनको निमार्ण र संरचनागत विकासका काम अन्तर्गत ५० वटा कानुन निर्माण गरेको छ। नगरबाट न्यायिक अधिकारको कार्यान्वयन गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा गठन भएको न्यायिक समितिमार्फत् इजलाशमार्फत न्यायसम्पादनका काम भइरहेका छन्। बुटवलमा वडा स्तरसम्मै मेलामिलापकर्ताहरु छनौट भएर विवादहरु मिलाउने कामको सहजिकरण गरिरहेका छन्। सद्भावयुक्त समतामुलक समाज बनाउने, मानवताको शहर, वेरोजगार शून्य ईलमयुक्त बुटवललाई सबल आर्थिक केन्द्रको रूपमा विकास गर्नेमा बुटवल उदाहरणीय बनेको छ। बुटवलले सुरु गरेका मेयर युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रम मुलुकमै नमुना मानिएका छन्।
बुटवलले फोहोरको बहुउपयोग गर्नेगरि शूल्य फोहरको अवधारणा अगाडि सारेको छ। अहिले फोहोरको ब्यवस्थापन, छाडाचौपायाको व्यवस्थापन, स्वच्छ खानेपानीको वितरणका कामलाई प्रभावकारी रुपमा सञ्चालन गरेको जनाएको छ।
यसैगरी अव्यवस्थित बसोबासी र जग्गासंग सम्बन्धित समस्या समाधानका लागि कार्यदल बनाएर काम गरेको छ भने त्यस्ता जग्गाको नापजाँचको काम पनि सुरु गरेको उपमहानगरले जनाएको छ।
सार्वजनिक जग्गा जोगाउने, ट्राफिक ब्यवस्थापन, शहरी क्षेत्रमा हरियाली गर्ने, वैज्ञानिक तरिकाले घरको ब्यवस्थापन, नगर कुरुप बनाउने केबल र नेटको ब्यवस्थापन गर्ने विषयलाई उपमहानगरले चुनौतीका रुपमा लिएर तिनको पनि केही वर्षमै समाधान गर्ने योजना बनाएको बताएको छ।
कोरोनाविरुद्ध प्रभावकारी काम
बुटवलमा बनाएको कोरोना अस्पताललाई मुलुकमै नमूना मानिएको छ। नेपाल ससकारले यसलाई लेभल २ को उत्कृष्ट मान्यता दिएको बताइएको छ। बुटवले कोरोना महामारीका विरुद्ध जनचेतना जगाउनेदेखि क्वारेन्टिन निर्माण, आइसोलेशन निर्माणका कामलाई प्रभावकारी बनाएको छ। तामनगरमा क्वारेन्टिन र आइसोदेशन सेन्टर, बुटवलको योगिकुटीमा आइसोलेशन सेन्टर, सेमलारको नवरत्न स्कुल र कान्ति स्कुलमा क्वारेन्टिन निर्माण गरिएका छन्।



लोकपाटी न्यूज

