काठमाडौं, १ असारः चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ पुगको छ। सोमबार थप ३६ जनामा संक्रमण पुष्टि भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुरले जानकारी दिएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार थप चीनभरमा ४९ जनामा कोरोनाभाइरसको संक्रमण फेला परेको जनाएको छ। यसमध्ये ३९ जना स्थानीय संक्रमण र १० जना विदेशबाट चीन आएका रहेका छन्।
स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ जना बेइजिङको छिमेकी प्रान्त हिबेईका रहेका छन्। ५५ दिनसम्म संक्रमित फेला नपरेको बेइजिङमा जुन ११ यता ७९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै चीनमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरको चिन्ता शुरु भएको छ। जिल्लामा युद्धकालिन अवस्था घोषणा गर्दै बजारको वरपर रहेका ४६ हजार वासिन्दाको परीक्षण गर्ने तयारी गरिएको छ। नयाँ संक्रमित फेला परेसँगै बजारलाई बन्द गरिएको छ भने ११ आवासीय क्षेत्रमा लकडाउन लागू गरिएको छ। विद्यालयहरु पनि बन्द गर्न लगाइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङमा फेला परेका पहिलो संक्रमितलाई गत जुन ९ मा लक्षणहरु देखापरेको थियो भने जुन ११ मा संक्रमण पुष्टि भएको थियो। चीनमा शनिबार पुष्टि भएका १९ मध्ये १७ आयातित संक्रमित दक्षिण एसियाका रहेका छन्। गुवाङडोङ प्रान्तमा भेटिएका उनीहरुमध्ये १४ जना बंगलादेश र ३ जना भारतबाट आएका थिए।हालसम्म चीनमा ८३ हजार १८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने १७७ जनाको उपचार भइरहेको छ। दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।



लोकपाटी न्यूज

