प्रदर्शनकारीलाई कोरोना भाइरस संक्रमणको विषयमा संवेदनशील हुन सिसिएमसीको आग्रह

ishwor-pokhrel pic
लोकपाटी न्यूज

काठमाडौं, ३० जेठः सरकारले पछिल्लो समय सरकारको विरोधमा सडक प्रदर्शन गरिरहेका समूहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको विषयमा संवेदनशील हुन आग्रह गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले शुक्रबार सरकारविरुद्ध भइरहेको प्रदर्शनको विषयमा मुख खोलेको हो।

समितिका संयोजक तथा उपप्रधानमन्‍त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वक्तव्य जारी गर्दै कोरोना उपचारमा खर्च भएको रकमको फाँटवारी छिट्टै सार्वजनिक हुने बताएका छन् । साथै पीसीआर टेष्टको दायरा बढाउने निर्णय भइसकेको र क्वारेन्टिन पनि सुधार गर्दै जाने बताएका छन् ।

विभिन्न माग राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको भन्दै पोखरेलले भनेका छन्, ‘आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं ।’

लकडाउन खुकुलो बनाउने निर्णय भइसकेकाले सामाजिक दुरी कायम राख्नु र कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको उनले बताएका छन् ।

पोखरेलले भनेका छन्, ‘थौरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रुप लिनसक्ने खतराप्रति सजग हुन सबैमा आह्वान गर्दछौं ।’

प्रेस वक्तव्य

नेपाल सरकार
कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र  निर्देशक समिति
विश्वका विभिन्न राष्ट्रहरुजस्तै नेपाल पनि यतिबेला कोरोना महामारीका विरुद्ध कठिन संघर्ष गरिरहेको छ । सरकारको योजना र आम नागरिकहरुको साथ सहयोगबाट हालसम्म हामीले कोरोना संक्रमणलाई धेरै हदसम्म प्रभावकारी नियन्त्रण गरिरहेको भए पनि केही समय यता संक्रमण बढ्दै गइरहेको र आगामी दिनमा यसमा थप वृद्धि हुने जोखिम देखिएको छ । जोखिमको यो विशेष स्थितिलाई ध्यानमा राख्दै विज्ञ, सार्वजनिक सञ्चारमाध्यम र आम नागरिकहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राख्दै कोरोना महामारी विरुद्धको योजनालाई थप प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको छ ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको छ । प्रदेश सरकार र स्थानीय तहहरुले पनि आफ्ना कोषहरुबाट यस विषयमा खर्च गरेका छन् । सरकारबाट यसको समग्र फाँटवारी छिटै सार्वजनिक हुने नै छ । हाल नेपालले गरिरहेको पिसिआर टेस्ट दक्षिण एसियाका धेरै मुलुकहरुको भन्दा अधिक भए पनि सरकारले पिसिआर टेस्टको दायरा थप बढाउने निर्णय गरिसकेको छ । एक महिना यता विदेशबाट भित्रिने नेपालीहरुको संख्या ह्वात्तै बढेर क्वारेन्टिनहरुको व्यवस्थापनमा केही समस्या देखिएको भए पनि तिनको निरन्तर सुधार गर्दै जान सरकार प्रतिवद्ध रहेको जानकारी गराउँछौँ ।

यसै बीच, विभिन्न मागहरु राखी भइरहेका सार्वजनिक गतिविधिहरुप्रति नेपाल सरकार, कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र ९सिसिएमसी०, निर्देशक समितिको गंभीर ध्यानाकर्षण भएको छ । आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र हामीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गंभीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौँ । लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो । थोरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन सम्बद्ध सबैमा आह्वान गर्दछौँ ।

हामी सबैलाई थाहा छ,भोलि नेपालको संसदबाट विशेष निर्णय हुँदैछ । लिम्पियाधुरा, लिपुलेक र कालपानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्वित गर्नेगरी प्रतिनिधिसभाले भोली गर्ने संविधान संशोधन सम्बन्धी निर्णय नेपालको इतिहासको एउटा महत्वपूर्ण क्षण हो । नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेको यस विशेष दिनलाई हार्दिक रुपमा स्वागत गर्न र सिंगो राष्ट यस विषयमा एक रहेको यथार्थलाई पुनःपुष्टि गर्न हामी सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।

ईश्वर पोखरेल
उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा संयोजक सिसिएमसी, निर्देशक समिति

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्