काठमाडौं, २८ जेठः नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १ दशमलव ८ प्रतिशतमा सीमित हुने विश्व बैंकले जनाएको छ। विश्व बैकले एक प्रतिबेदन निकाल्दै कोरोना भाइरसको महामारीका कारण नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १ दशमलव ८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो। त्यस्तै २०२१ मा २ दशमलव १ प्रतिशतमात्रै वृद्धिदर हुने पनि प्रक्षेपण पनि विश्व बैकले गरेको छ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुग्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकले गरेको प्रक्षेपणमा यस वर्ष विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले नकारात्मक हुने देखिएको छ। यो दोस्रो विश्व युद्धपछिको अर्थतन्त्रमा देखिएको सबैभन्दा अवस्था भएको बैंकको भनाइ छ।
विश्व बैंकले सन् २०२० को ग्लोबल इकोनोमिक प्रोस्पेक्टस् सार्वजनिक गर्दै सन् १८७० यता सबैभन्दा धेरै प्रतिव्यक्ति आयमा कमी आएको समेत जनाएको छ। त्यस्तै, एड्भान्स इकोनोमी भएका देशको अर्थतन्त्र भने सन् २०२० मा ७ प्रतिशतले घट्ने देखिएको छ।
आन्तरिक वस्तुको माग र आपँर्ति, व्यापार तथा वित्त क्षेत्रमा नकारात्मक असर परेकाले विकसित बजार तथा विकासोन्मुख अर्थतन्त्र २ दशमलव ५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । समग्रमा हेर्दा अर्थतन्त्रमा ६० वर्षमा संकुचन आउने देखिएको छ। त्यस्तै प्रतिव्यक्ति आय पनि ३ दशमलव ६ प्रतिशतले घट्ने र लाखौं मानिसहरू अति गरिबीमा जाने प्रक्षेपण विश्व बैंकको छ।



लोकपाटी न्यूज

