काठमाडौं, २७ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लक डाउन मोडालिटी कस्तो हुन्छ सोही अनुसार एसईई लगायत अन्य परीक्षाको टुंगो लाग्ने बताएका छन्। एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि एकीकृत धारणा बनाएर अघि बढ्ने उनले बताए। यसअघि उनले केही दिनमै यसबारेमा निर्णय गरिने बताएका थिए।
मंगलबार प्रतिनिधिसभा संसद बैठकमा सांसदहरूले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षामन्त्री पोखरेलले जेठभित्रै परीक्षाहरूका बारेमा निर्णय पुग्ने फेरि दोहोर्याए। ‘एसईई परीक्षा सञ्चालन नभएकाले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ,’ उनले भने, ‘विद्यालयहरुमा क्वारेन्टाइन रहेको छ। केही केन्द्र थप गरेर एसईई गर्ने कि भन्ने थियो, संक्रमित बढ्दै गएपछि त्यो पनि सम्भव भएन।
तथापि, परीक्षाका सम्बन्धमा विद्यार्थी र अभिभावकमा रहेको अन्योल अब धेरै समय नरहने उनले दाबी गरे । यस्तै, एसईईबारे ३ वटा विकल्पमा छलफल भइरहेको पनि मन्त्री पोखरेलले बताए। ‘एसईई खारेज गर्ने, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिने वा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने गरी व्यवस्था मिलाउनेजस्ता विकल्प छलफलमा आएका छन्,’ उनले भने, तर त्यसमा कानुनी जटिलता पनि छ। यसर्थ, निर्णयमा पुग्न केही विलम्ब भएको उनको भनाई छ।



लोकपाटी न्यूज

