लकडाउनमा १ हजार १ सय ५ जनाले गरे आत्महत्या

symbolic photo
लोकपाटी न्यूज

काठमाडौं, २७ जेठ। देशभर लकडाउनको समयमा ११०५ जनाले आत्महत्या गरेका छन्। कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्याले आफ्नै हत्या गरेका छन्। नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ।

लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। ११ चैतदेखि १० जेठसम्म कुल नौ सय ६३ जनाले आत्महत्या गरेकोमा त्यसपछिको एक हप्तामा एक सय ४२ जना अर्थात् दैनिक २० जनाले आत्महत्या गरेको देखिन्छ।

वागमती प्रदेशमा लकडाउन सुरु भएयताको ६९ दिनमा दुई सय ३१ जनाले आत्महत्या गरेका छन्। यीमध्ये ६९ जना काठमाडौं उपत्यकाका छन्। यस हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरमा औसतमा दैनिक एकजनाले आत्महत्या गरेको देखिन्छ ।

प्रदेश–५ मा दुई सय ४२ जनाले आत्महत्या गरेका छन्। प्रदेशगत हिसाबले यो सबभन्दा धेरै हो। यो प्रदेशमा सबभन्दा बढी ३८ हजार पाँच सय ८७ जना क्वारेन्टिनमा छन् । संक्रमणको हिसाबले प्रदेश–५ दोस्रो बढी कोरोना प्रभावित प्रदेश हो । सोमबार साँझसम्म यो प्रदेशमा एक हजार एक सय ७६ संक्रमित छन् । कोरोनाबाट प्रदेश–५ मा चार जनाको ज्यान गएको छ ।

११ चैत यताको ६९ दिनमा प्रदेश–१ मा एक सय ८६, प्रदेश– २ मा एक सय ५२, गण्डकीमा एक सय २१, कर्णालीमा ५८ र सुदुरपश्चिम प्रदेशमा एक सय १५ जनाले आत्महत्या गरेको डिजाइजी शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्