घादिङ, २७ जेठ। गजुरी गाउँपालिकाका उपप्रमूख सीता ढुंगानाले सडकमा बेवारिसे अवस्थामा रहेका सबै नागरिकहरूको कोरोना परीक्षण गर्न आव्हान गरेकी छन्। धादिङको गजुरी बजारमा विगत डेढ वर्षदेखि सडकमा देखिने एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गजुरी गाउँपालिका गजुरी बजारदेखि वडा नं.५ घाटबेसी आसपासमा सडक किनारमा देखिने नाम नखुलेको सुस्त मनस्थितिकी करिब ३२ वर्षीय महिलाको उद्दार गर्न भनि उपाध्यक्षले पहल गर्दा एक पुनर्स्थापना केन्द्रले कोरोना परीक्षणको रिपोर्ट मागेपछि स्वाब परीक्षण गर्दा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। गत जेठ १९ गते गजुरी घाटबेसीका स्थानीयले सामाजिक सञ्जालमा पोष्ट गरेपछि थाहा पाएको भन्दै उपप्रमूख ढुंगानाले पीडित महिलाको आफै अवलोकन गरी उनको उपचार तथा उचित व्यवस्थापन गरेकी हुन्।

कोरोना संक्रमित महिलालाई सोमबार नै उपचारको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ। देशैभरि हजारौंको संख्यामा बेवारिसे सडक मानवहरु रहेका छन्। उनीहरूमा संक्रमण फैलन सक्ने र उनीहरुमार्फत् जोखिम फैलने भन्दै उक्त व्यक्तिहरुको परिक्षण गरेर तुरुन्त उद्दार गरिने बताइन्। उपप्रमूख ढुंगानाले भनेकी छन्, ‘देशभरिका सम्वन्धित क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्था तथा अन्य निकायको ध्यानाकर्षण हुनु जरुरी छ, त्यसका निम्ति हामी स्थानीय तह यसमा सहकार्य गर्न तयार छौं।’




लोकपाटी न्यूज

