कोरोना भाइरसका कारण ६ करोड मानिस अति गरिबीमा घचेटिने

लोकपाटी न्यूज

काठमाडौं, २६ जेठः विश्व ब्याङ्कका प्रमुखले कोरोनाभाइरस महामारीलाई विश्व अर्थतन्त्रका निम्ति घातक धक्का भन्दै त्यसले अर्बौँ मानिसको जनजीविका प्रभावित भएको बताएका छन्। एक अन्तर्वार्तामा डेभिड मालपासले सरकारहरूलाई वृद्धि पुनर्स्थापित गराउन नयाँ प्रणालीहरू निर्माण गर्न आह्वान गरे।

भाइरसको आर्थिक असर एक दशकसम्म रहिरहनसक्ने उनले बताए। यसअघि मे महिनामा उनले कोरोनाभाइरसका कारण ६ करोड मानिस अति गरिबीमा घचेटिने बताएका थिए। विश्व ब्याङ्कका अनुसार अति गरिबीको वर्गमा दैनिक दुई अमेरिकी डलरभन्दा कममा निर्वाह गर्न वाध्य मानिस पर्छन्।

ूमहामारीको असर अनि त्यसपछि लकडाउनहरूका कारण अर्बौँ मानिसको जनजीविका बिथोलिएको छ। त्यो चिन्ताजनक छ। ”गुमेको आम्दानी जस्तो प्रत्यक्ष प्रभाव अनि स्वास्थ्य तथा सामाजिक रूपमा परेका अन्य प्रभाव निकै कठोर छन्,” उनले भने। मालपासले प्रभाव बहन गर्न नसक्ने वर्गमै सबभन्दा धेरै असर पर्ने बताए।