धादिङ, २५ जेठ। गजुरी गाउँपालिकाका उपप्रमूख सीता ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार गजुरीको खाद्य बैंकमा ३०० किलो चामल र ५० किलो दाल सहयोग गरेकी छन्। कोभिड-१९ को महामारीका बीचआफैंले बनाएको अवधारणा बमोजिम गरीब तथा अति विपन्न परिवार र दैनिक ज्यालादारीमा जीवन व्यतित गरिरहेका नागरिकलाई लक्षित गरी सुरु गरिएको उक्त खाद्य बैंकमा सहयोग पाउदा खुसी लागेको बताइन्।
संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आव ०७७/०७८ को बजेटमा खाद्य बैंक (फुड बैंक) को अवधारणा कार्यन्वयनमा ल्याइनेछ भन्ने कुरा प्रस्तुत गर्दा आफू अत्यन्तै खुशी भएको बताइन्। उक्त घोषणापछि धेरै जनाले फोन तथा म्यासेजबाट गजुरी गाउँपालिकालाई बधाई दिँदा जनताको सेवामा अझ अग्रसर हुने प्रेरणा मिलेको उपप्रमूख ढुंगानाले बताइन्।
उक्त अभियान यो बिहान बेलुकी छाक टार्न कठिनाइ भएका नागरिकको चुल्हो बाल्ने अभियान भएको उपप्रमूख ढुंगानाले बताइन्। हालसम्म गजुरी गाउँपालिकाले सबै वडाको अति विपन्न परिवारको लगत संकलन गरी करिब ३००० परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ।
पीएचडी स्कलर उपप्रमूख ढुंगानाका आफ्नै गाउँपालिका र अन्य विभिन्न ठाउँको अध्ययन र अनुसन्धान पश्चात् नेपालका कान्तिपुर लगायतका पत्रपत्रिका र विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रतिवेदन समेत प्रकाशित भइसकेका छन्।
उपप्रमूख ढुंगानाले गजुरीबासी जनता तथा आम नागरिकहरुमा जन्मदिन, स्मृति दिवस, विवाह वर्षगाँठ लगायतका कामहरुमा गरिने खर्च कटाएर गाउँपालिकाले सञ्चालन गरेको फुड बैङ्कमा खाद्यान्न जम्मा गरी विपन्न परिवारलाई सहयोग गर्न आग्रह गरेकी छन्।



लोकपाटी न्यूज

