इलेक्ट्रिक सवारी साधनको आयातमा लाग्ने भन्सार घटाउन माग गर्दै ज्ञापनपत्र पेस

लोकपाटी न्यूज

काठमाडौं, २३ जेठः सरकारले विद्युतीय सवारी साधनको आयातमा लाग्ने भन्सार तथा अन्तस्शुल्क वृद्धि गरिएकोमा आपत्ति जनाउँदै विभिन्न क्षेत्रका १७ जना व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र पेस गरेका छन्। विश्व वातावरण दिवसको अवसरमा शुक्रबार उक्त ज्ञापनपत्र पेस गर्दै उनीहरूले विद्युतीय गाडीको प्रस्तावित महशुल घटाएर पूर्ववत् कायम गर्न अनुरोध गरेका हुन्।

आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय गाडी पैठारीमा लाग्दै आएको भन्सार तथा अन्तशुल्क वृद्धि गरेको हो। यो प्रस्ताव सरकारको घोषित नीति र प्रतिबद्धताविपरीत रहेको ज्ञापनपत्रमा छ। पेट्रोल-डिजेल गाडी प्रोत्साहित गर्दा विदेशी मुद्रा सञ्चितिमा थप भार पर्ने र व्यापार घाटा बढ्ने पनि उल्लेख गरिएको छ।

त्यस्तै, पेट्रोल(डिजेलको बढ्दो खपतले वायु प्रदूषण बढ्ने, वायु प्रदूषणले जनस्वास्थ्यमा अपुरणीय क्षति पुग्ने, ‘अफ–पिक’ समयको बिजुली खेर जाने र सरकारको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने ज्ञापनपत्रमा औंल्याइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्