भारतमा एकैदिन ६ हजार ९७७ जना संक्रमित

लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ, छिमकी देश भारतमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमण तीब्र गतिमा फैलिंदै गएको छ।भारतमा संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि दिनहुँ नयाँ रेकर्ड बनाउन थालेको छ। भारतमा हिजो (बुधबार)अहिलेसम्मकै बढी नयाँ संक्रमित थपिएका छन् भने मृतकको संख्या पनि हालसम्मकै बढी भएको छ। भातमा पछिल्लो २४ घण्टामा सात हजार २७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यसअघि गत आइतबार मात्रै सबैभन्दा बढी २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका थिए। यस्तै मृत्यु पनि २४ घण्टामा अहिलेसम्मकै उच्च भएको छ । १८७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८६ पुगेको छ।सक्रिय संक्रमितको संख्या ८५ हजार ७९२ रहेको छ। त्यस्तै २४ घण्टामा ३ हजार ४७२ जनालाई निको भएको छ। निको हुनेको संख्या ६७ हजार ७४९ पुगेको छ। मृत्यु हुनेको संख्या ४ हजार ५३४ पुगेको छ। २४ घण्टामा १८७ जना थपिएका हुन्।

सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन्। त्यहाँमात्र ५६ हजार ९४८ जना संक्रमित रहेका छन् । २ हजार १९० जना नयाँ संक्रमित थपिएका छन्। मृतकको संख्या १ हजार ८९७ रहेको छ।महाराष्ट्रपछि तमिलनाडु दोस्रो स्थानमा रहेको छ। त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । मृतक १३६ रहेका छन्। तेस्रो स्थानको दिल्लीमा १५ हजार २५७ संक्रमति रहेका छन्। मृतक ३०३ पुगेका छन् ।

चौथो स्थानको गुजरातमा १५ हजार २०५ जना कोरोना संक्रमित रहेका छन्। मृतक ९३८ पुगेका छन्। भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ।कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।

भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा लकडाउन जारी भए पनि यसले संक्रमण रोक्न सहयोग नपुगेको भन्दा मोदी सरकारको आलोचना भएको छ । केहि दिनअघि राहुल गान्धीले यो कुन खालको लकडाउन हो भन्दै प्रश्न उठाएका थिए । उनले सरकारको कमजोर शैलीका कारण कोरोना संक्रमण व्यापक रुपमा फैलिएको आरोप समेत लगाएका थिए ।