अमेरिकामा १ लाख भन्दा बढिको कोरोना संक्रमणबाट ज्यान गयो

लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ,कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड-१९ बाट एक लाख २७६ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्या १६ लाख ९८ हजार भन्दा बढी पुगेको छ। विश्वभर संक्रमित भएका कुल मानिसमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा छन्। अमेरिकामा गएको जनवरी २१ मा वासिङ्गटनमा पहिलो संक्रमण पुष्टि भएको थियो। चार महिना भित्र संक्रमित तथा मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा धेरै भएको हो । विश्वभर हालसम्म ५६ लाख ८५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये कम्तिमा तीन लाख ५४ हजार ९८३ जनाको ज्यान गएको छ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो ४४ वर्षमा कोरिया, भियतनाम, इराक तथा अफगानिस्तानमा भएका हिंसाको क्रममा ज्यान गुमाउने अमेरिकी सुरक्षाकर्मीको संख्यासँग लगभग बराबर रहेको छ।

समाचार संस्था रोयटर्सले गरेको अध्ययन अनुसार पछिल्लो हप्ता अमेरिकाका २० राज्यमा अझै पनि संक्रमणदर बढ्दो क्रममा देखिएको छ। शिकागो, लस एन्जलस र वासिङ्गटन डिसीसहितका महानगरका अस्पतालमा अझै पनि संक्रमितको संख्या अधिक छ।

नर्थ क्यारोलाइना, विस्कनसिन र अर्कान्सा राज्यमा अहिले पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ। बढी प्रभावित भएका केही राज्यमा भने मृत्युदर कम हुँदै गएको छ। २९ हजार ४८४ भन्दा बढीको ज्यान गएको न्यूयोर्कमा अहिले संक्रमण नियन्त्रणमा आउने क्रममा छ।