काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मलेरियाविरुद्धको औषधिको परीक्षण प्रयोग तत्काललाई रोक्न आग्रह गरेको छ। कोरोना भारसको संक्रमण रोक्न भनेर विभिन्न देशले गरिरहेको मलेरियाविरुद्धको औषधिको परीक्षण प्रयोग तत्काललाई रोक्न आग्रह गरेको हो।
डब्लूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले लानसेट अनुसन्धान पत्रिकाले प्रकाशन गरेको प्रतिवेदनअनुसार मेलेरियाको औषधि हाइड्रोक्साइक्लोरोक्विन कोरोना संक्रमितले खाँदा झन् मृत्युको जोखिम बढाएको भन्दै यसको परीक्षण स्थगन गर्न विश्व समुदायलाई आग्रह गरेका हुन्।
उनले यो औषधिको फाइदा बेफाइदाबारे डब्लुएचओले विस्तृत अध्ययन गर्ने पनि जानकारी दिएका छन्। त्यतिन्जेलका लागि यो औंषधिको परीक्षण बन्द गर्न उनले सुझाव दिएका हुन्।
चिकित्सको चेतावनीविपरीत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यो औषधि कोरोना भाइरसको संक्रमण रोक्न उपयोगी हुने भन्दै आफूले सेवन गरिरहेको बताएका थिए। केही दिनअगाडि बेलायतमा पनि यो औषधिको परीक्षण सुरु गरिएको थियो।



लोकपाटी न्यूज

