सुर्खेत,१२ जेठ चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका कालिकोटका यात्रीहरुलाई प्रहरीले कुटपिट गरेको छ। झापाबाट कालिकोटका लागि हिँडेको ना।३ ख। ५०९० नम्वरको बसका यात्रीहरुलाई वीरेन्द्रनगर–१४ को लादेमा प्रहरीले कुटपिट गरेको हो।प्रहरीको कुटाईबाट आठ जना यात्रुहरु घाइते भएका छन् । उनीहरु आइतबार साँझ सुर्खेत पुगेर सुब्बाकुनामा बास बसेका थिए।
४ दिनदेखि खाना मात्रै होइन पानी पनि पिउन नपाएको उनीहरुले गुनासो गरेका छन्। प्रहरीले विना कारण कुटपिट गरेको भन्दै उनीहरुले सुर्खेत–दैलेख सडक अवरुद्ध गर्नुका साथै नारावाजी गरेका थिए।
झापाबाट हिँडेदेखि भोकै रहेका ६४ यात्रुहरुलाई कलाकार हरि विष्टले वीरेन्द्रनगरमा खानाको व्यवस्था गरेका थिए।वीरेन्द्रनगर–१४ को छेडा नजिकै खाना खान ओर्लिएका यात्रीलाई प्रहरीले लाट्ठी चार्ज गरेको थियो। झापामै कोरोना परीक्षण गराएर रिपोर्टसहित आएका उनीहरुलाई प्रहरीले आइतबार दिनभर बबई नाकामा राखेको थियो।



लोकपाटी न्यूज