एक दिनमा १ लाख कोरोना संक्रमित थपिए

corona world
लोकपाटी न्यूज

काठमाडौं, ८ जेठ। बितेका २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन्। उक्त कुराको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो। एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो। कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन्।

‘अझै हामीले यो महामारीलाई अझै लामो समयसम्म भोग्नुपर्ने छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अहनोम घेब्रियेससले भनेका छन्, ‘निम्न र मध्यम आयस्तर भएका देशहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको घटनाले हामीलाई निक्कै चिन्तित बनाएको छ।’ त्यसो त युरोप र अमेरिका लगायतका क्षेत्रहरुमा कोरोनाभाइरसका संक्रमणका घटनाहरुम कमी आइरहेका छन्।

त्यसैले ती देशहरुले कोरोनाभाइरसलाई नियन्त्रण र फैलिनबाट रोक्नका लागि लगाएका लकडाउनलाई खुकुलो पनि बनाउँदै लैजान थालेका छन्। यसबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको सवाललाई लिएर पुनः चीनमाथि खनिएका छन् । उनले कोरोनाभाइसको बारेमा चीनले ठूलो असक्षमता प्रदर्शन गरेको आरोप लगाउँदै विश्वव्यापी रुपमा नरसंहार गरेको आरोप लगाएका छन्।

आज बिहानै एक ट्वीट गदै उनले सो आरोप लगाएका हुन्। त्यसो त चीनले पनि अमेरिकामाथि बेइजिंगको प्रतिष्ठा ध्वस्त पार्न खोजेको आरोप लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट हट्ने धम्की दिएपछि अमेरिकाले सो संगठनप्रतिको आफ्नो जिम्मेवारीलाई खुम्चाउँदै लगेको आरोप पनि चीनले लगाएको छ ।