अत्यावश्यक पसल हप्तामा तीनदिन मात्रै खुल्ने

Butwal upmahanagrpalika
लोकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल, ६ जेठ। बुटवल उपमहानगरपालिकाले लकडाउनलाई समय तालिका बनाएर व्यवस्थित गरेको छ। अनावश्यक रुपले घरबाहिर निस्कने र बिहानी र रात्री हिडाइलाई निरुत्साहित गर्न र असुरक्षित रुपले सामान खरिद बिक्री कार्यलाई व्यवस्थित, सुरक्षित तथा सामाजिक दूरी पालना गर्न कडाई गरेको हो।

खाद्यान्न, तरकारी तथा फलफूल पसलहरु हप्तामा ३ दिन, बिहान ९ बजेदेखि २ बजेसम्म आइतबार, मंगलबार र बिहीबार खोल्न पाइने भएको छ। स्थानीय स्तरमा उत्पादन भएको हरियो ताजा तरकारी र फलफूल स्थानीय पालिकामार्फत् स्थानीय उत्पादन भनी सिफारिस गरेको आधारमा र बुटवल उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा घरघरमा डुलाई बिहान ७ बजेदेखि १० बजेसम्म बिक्री वितरण गर्न पाइने नियम बनाइएको छ।

उपमहानगरद्वारा जारी गरिएको सार्वजनिक सूचना अनुसार कृषि कार्यसँग सम्बन्धित कार्यका लागि आवश्यक मल,विउ, औषधी पसल आइतबार, मंगलबार र बिहीबार बिहान ९ः०० बजेदेखि २ः०० बजेसम्म खोल्न पाइने छ। दुध तथा डेरी उत्पादन प्रत्येक बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म विक्री गर्न पाउने व्यवस्था मिलाइएको छ। दुध विक्रेताले उत्पादन, संकलन गरेको स्थल खुलेको सम्बन्धित पालिका वा वडाबाट भएको सिफारिस साथमा ल्याउनुपर्ने छ।

विकास निर्माणसँग सम्बन्धित माल सामान बिक्री गर्ने हार्डवेयर पसल हप्तामा ३ दिन आइतबार, मंगलबार, बिहीबार विहान ९ बजेदेखि २ बजेसम्म खोल्न सकिने भएको छ। सञ्चालन एवं कार्यान्वयन गर्न स्वीकृत पूर्वाधार विकासका कार्यहरु सुरक्षा र सामाजिक दूरीको सुनिश्चितता कायम गरी कामको प्रकृति हेरी समय मिलाएर सबै दिन गर्ने तर कामदार श्रमिकहरुको परिचय खुलेको अभिलेख राखेको हुनुपर्ने छ।

कृषि औजार उपकरण तथा साधन र ढुवानी साधनको मर्मत सम्भार ५ जनाभन्दा बढी मिस्त्री नरहने गरी प्रत्येक दिन बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ। नदीजन्य पदार्थको ढुवानीका लागि प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

वैक, वित्तीय संस्था र सहकारीहरु प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मात्र खुल्ला गर्न सकिने छ। आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित गर्न लकडाउनको पालना र सामाजिक दूरी कायम गर्न उपमहानगरले आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्