चट्याङबाट दुईको मृत्यु, सात घाइते

chatyang
लोकपाटी न्यूज

धादिङ, ९ बैशाख। दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्। चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन्। घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। गम्भीर घाइते अर्का एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो। घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको वडाअध्यक्ष अमित घलेले जानकारी दिनुभएको छ। घाइते भएका चार महिला र दुई पुरुषको भुुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटनास्थल पृथ्वीराजमार्गको महादेवबेँसीबाट चार घण्टाको दूरीमा दक्षिणतर्फ रहेको छ। घटनास्थल क्षेत्रमा पानी परिरहेकाले कच्ची सडक निर्माण भए पनि सो क्षेत्रमा सवारी साधन लान नसकिने अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्