कोभिड-१९ का ८४ प्रतिशत बिरामी लक्ष्यणविहीन

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौँ, ९ बैशाख। मुलुकमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका कोभिड–१९ का बिरामीमध्ये ८४ प्रतिशतमा कुनै पनि लक्षण थिएन । कुल संक्रमित ३१ मध्ये २६ जनाले आफूलाई कुनै पनि प्रकारको अस्वस्थता र बिरामी अनुभव नभएको चिकित्सकीय जाँचमा बताएका हुन्। लक्षणविहीन संक्रमितलाई चिकित्सा भाषामा ‘एसिम्प्टोम्याटिक’ भनिन्छ। सबैभन्दा बढी संक्रमित १३ जना विराटनगरको कोसी अस्पतालमा छन्। अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार त्यहाँ सबै सक्रमित ‘स्वस्थ’ छन्। उनीहरूमा कोभिड–१९ को कुनै लक्षण देखिएको छैन। ‘उहाँहरूले कुनै प्रकारको शारीरिक अस्वस्थता पनि अनुभव गर्नुभएको छैन,’ डा. मिश्रले भनिन्।

कोसी अस्पतालमा २० देखि ३० वर्ष उमेर समूहका १० जना छन्। अरू ३४ वर्ष, ४० वर्ष र ६५ वर्षका छन्। कोसीपछि सबैभन्दा बढी बिरामी सुदूरपश्चिमको सेती अञ्चल अस्पतालमा चार जना उपचाररत छन् भने एक जना निको भएर गइसकेका छन्। भर्ना भएका पाँच जनामध्ये चार जनामा कोभिड–१९ को लक्षण नदेखिएको अस्पतालका डा. शेरबहादुर कमरले जानकारी दिए। सेतीमा कोभिड–१९ का पहिलो बिरामीमा एक दुई दिन सामान्य ज्वरो, सुक्खा खोकी र अलिअलि घाँटी दुखेको थियो। दुई दिन पातलो दिसा भएको थियो। ‘त्यो मधुरो लक्षण हो,’ डा. कमरले भने।

नारायणी उपक्षेत्रीय अस्पतालमा हाल भर्ना रहेका चार जना कोभिड–१९ संक्रमितमा समेत कुनै प्रकारको लक्षण देखिएको छैन। ‘चारै जनाले बिरामी भएको अनुभव गरिरहनुभएको छैन। उहाँहरूमा कोभिड–१९ को कुनै पनि लक्षण देखिएको छैन,’ नारायणी अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले भने। उनले कुनै शारीरिक समस्या, लक्षण नहुँदा हाल संक्रमितहरू अस्पतालको निगरानीमा बसेजस्तो मात्र भएको बताए।

धौलागिरि अस्पताल बागलुङमा कोभिड–१९ संक्रमण पुष्टि भएर भर्ना भएका दुई जनामध्ये एक जनामा कुनै लक्षण देखिएन भने एक जनामा सामान्य मधुरो लक्षण देखिएको थियो। धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र विक पोखरेलका अनुसार हालै अस्पतालबाट डिस्चार्ज भएकी ६५ वर्षीया महिलामा कोभिड–१९ संक्रमणको कुनै लक्षण थिएन। उनलाई पहिलेदेखि नै दम र उच्च रक्तचाप थियो।

उपचाररत १९ वर्षीया युवतीमा भने अस्पताल भर्ना हुनु अगाडि हल्का ज्वरो, सुक्खा खोकीको लक्षण देखिएको थियो। ‘उनलाई पनि अहिले कुनै समस्या छैन,’ डा. शैलेन्द्रले भने, ‘२४ दिनमा चार पटक घाँटीको र्‍यालको नमुना पठाउँदा पनि पोजिटिभ नै देखिएकाले उनलाई अस्पतालमै राखिएको छ।’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल भर्ना रहेका ८१ महिला र उनका छोरामा कुनै पनि प्रकारको लक्षण र अस्वस्थता नदेखिएको निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए।

सरुवा रोगसम्बन्धी मुलुकको एक मात्र केन्द्रीयस्तरको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौंमा हालसम्म तीन जना कोभिड–१९ का संक्रमित भर्ना भएकामा २ जना निको भएर घर गइसकेका छन्। टेकुमा रहेका तीनै जनामा कोभिड–१९ को कुनै जटिलता नदेखिए पनि हल्का लक्षण देखिएको थियो। ‘हामीकहाँ भर्ना भएका पहिलो संक्रमितलाई सास फेर्न अलि गाह्रो भए पनि अन्य लक्षण खासै थिएन,’ टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, ‘दोस्रो र हाल भर्ना रहेका तेस्रो बिरामीमा सुक्खा खोकीबाहेक खासै लक्षण देखिएन।’

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले हालसम्म ३ जना कोभिड–१९ संक्रमितमा मात्र ज्वरो देखिएको बताए। पाटनमा भर्ना भएकी ८१ वर्षीया महिला पूर्ण स्वस्थ रहेको र निजको छाती ‘क्लियर’ रहेको समेत उनले जनाए। वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले कोभिड–१९ बाट संक्रमित भएपछि २० प्रतिशतलाई मात्र लक्षण देखिने बताए। ‘२० प्रतिशतलाई समस्या हुन्छ, उनीहरू अस्पताल पुग्न सक्छन्,’ उनले भने, ‘करिब ८० प्रतिशतलाई स्वास्थ्यसम्बन्धी खास समस्या हुँदैन, परीक्षण नगरे संक्रमित भएको थाहा पनि हुँदैन।’ कोभिड–१९ बाट संक्रमितमध्ये करिब ५ प्रतिशतलाई मात्र आईसीयू उपचार आवश्यक पर्ने उनले बताए। आजको कान्तिपुरमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्