पर्वतमा मजदूर तथा बिपन्न परिवारले पाए राहात

parbat naksa
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत,७ वैशाख । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड(१९ ले रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनका कारण ज्याला मजदूरी गर्न नपाएर समस्यामा परेका तथा निम्न परिवारका करिब ७ हजार परिवारले पर्वतमा राहत पाएका छन्। जिल्लामा रहेका ७ वटै स्थानीय तहहरुमा बस्दै आएका मजदूर ,गरीब अपाङ्गता भएका,एकल महिला तथा बेसाहारा भएका परिवार लाई रु २ करोड २० लाख ५० हजार मुल्य बरावरको खाद्य सामग्री बितरण गरिएको हो।

स्थानीय तहहरुले दिएको जानकारी अनुुसार कुश्मा नगरपालिकामा बसोवास गर्ने २७ सय ८४ परिवारलाई राहत बितरण गरिएको प्रमूख प्रशासकीय अधिकृत हरी पंगेनीले जानकारी दिए। नगरपालिकाले विपत व्यवस्थापन कोषमा रु ५० लाख विनियोजन गरेको थियो भने विभिन्न दाताहरुबाट प्राप्त २१ लाख गरी ७१ लाख संकलन भएको थियो। १४ वटा वडाहरु रहेका नगरपालिकामा पहिलो चरणको राहत स्वरुप २७ लाख पेश्की स्वरुप निकाशा गरिएको पंगेनीको भनाइ छ।

यसैगरी फलेवास नगरपालिकामा जम्मा भएको ६२ लाख बाट २२ लाख बराबरको खाद्यान्न बितरण गरिएको छ। नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत मुक्तिराम रिजालका अनुसार वडाहरुमा सिफारिस भई आएका ६ सय ७३ परिवारलाई राहत बितरण गरिएको हो। महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले भने थप संकट आउन सक्ने बारेमा सचेत बनेर पहिलो चरणमा राहत बितरणमा कडाइ गरिएको बताए। महाशिलाको कोषमा प्रकोप व्यवस्थापनको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ। खाद्यान्न सङ्कटका कारण चुल्हो बल्ने अवस्था नै नरहेका ३ सय ६३ परिवारलाई प्रति परिवार २ हजार रुपैयाँ बराबरको खाद्यान्न पर्ने गरी कुल ७ लाख २६ हजारको राहत बितरण गरिएको छ।

यस्तै, बिहादी गाउँपालिकाले झण्डै ९ लाख बराबरको राहत सामग्री ५ सय ३८ परिवारलाई बाँडेको छ। यस्तै, पैयुँ गाउँपालिकाले रकमान्तर गरेर छुट्ट्याएको २५ लाख बाहेक अरूबाट कोषमा रकम जम्मा भएको छैन। सोही रकमबाट झण्डै २३ लाख मूल्य बराबरको चामल, नून, तेल लगायतका खाद्यान्न बाँडिएको प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए । उनका अनुसार पैयुँमा ‘क’ वर्गमा परेका ७ सय ८४ र ‘ख’ वर्गमा परेका १ सय ७९ परिवारलाई राहत दिइएको छ ।

जिल्लाको मोदी गाउँपालिकाले कोषमा जम्मा भएको ३५ लाख रुपैयाँमध्येबाट राहत बितरणको लागि १५ लाख रुपैयाँ खर्च गरेको छ। प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीका अनुसार कुल ६ सय १० परिवारको लागि पहिलो चरणमा सहयोग उपलब्ध गराइएको र समस्या भएमा पुन राहत बाँड्ने बताए। यस्तै, प्रकोप व्यवस्थापन कोषमा झण्डै ३४ लाख रुपैयाँ जम्मा गरेको जलजला गाउँपालिकाले राहत वितरणका लागि १५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकामा रहेकामध्ये १ हजार ६६ परिवारलाई राहत बाँडि सकिएको र आवश्यकता अनुसार थप हुँदै जाने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्