दोस्रो कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किइन्

Prasiddi-shrestha-korona
लोकपाटी न्यूज

काठमाडौं, ६ वैशाख। नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छिन्। उनलाई चैत १० गते कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो।

दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ पूर्ण निको भएर आज टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनी कोरोनालाई जितेपछि आज जीतको मुस्कानसहित अस्पतालबाट विदा भएकी हुन्। उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएकी छन्। आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको बताईन्।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नमूना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन्। गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए। उनी पनि ठीक भएर घर फर्किसकेका छन्। नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्