कोरोना महामारी र कृषि क्रान्तिको अवसर

Prakash Gautam
नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन, सबै खत्तम छ, पढेर पनि केही जागिर पाइँदैन, सबै कुरा राम्रो नै छैन, विदेश नै जानुपर्छ भन्ने युवाहरुको ठूलो जमात नै स्वदेश फर्केका छन्। गाउँबाट शहर पसेका युवाहरु पनि गाउँ नै पसेका छन्। नेपालले यस्तो बेला नसोचेर कहिले सोच्ने ? अहिले धेरै बौद्धिक जमातहरु अष्टे«लिया, अमेरिका, बेलायत जस्ता मुलूकबाट आफ्नो देश आउन चाहन्छन्। यस्तै धेरै मेहेनती श्रमिक युवाहरु पनि खाडी मुलूकबाट नेपाल फर्कन चाहन्छन्। पर्याप्त स्वास्थ्य सतर्कतासहित उनीहरुलाई नेपाल ल्याउन ढिलाइ गर्नु हुँदैन।
लोकपाटी न्यूज

प्रकाश गौतम

चीनको बुहानबाट ३१ डिसेम्वर २०१९ मा अज्ञात निमोनियाका कारण मानिसको मृत्यु भयो र यो मृत्यृ किन भयो कसरी भयो भनेर जनवरी २०२० को शुरुमा अनुसन्धान शुरु गरिएको थियो। त्यही अनुसन्धानबाट कोरोना भाइरसको पत्ता लागेको थियो। कारोना भाइरस (कोभिड–१९) अब विश्वमा ठूलो समस्या भइसकेको छ। प्रत्येक दिन हजारौं व्यक्ति संक्रमित भइरहेका छन् र दैनिक हजारौं मानिसले ज्यान गुमाउँदैछ । सुरुमा यो चीनको मात्र समस्या थियो। तर अहिले विशेषगरि युरोपियन देश र अमेरिकातिर तीव्र रुपमा फैलिइसकेको छ भने पूर्वी एसियामा केही मात्रामा कम गतिमा फैलिइरहेको छ।

यो भाइरसले धर्म, सम्प्रदाय, वर्ण, सम्पन्न, विपन्न, महाशक्ति राष्ट्र, गरीब जनता, धनी जनता, ठूलो सानो केही भनेको छैन। दिन गुना रात चौगुना आक्रमण गरी सबैलाई आक्रान्त बनाएकोे छ। सबै देशहरु कोठामा ताला लगाएकोजस्तै लकडाउनको अवस्था छन्। विश्वमा कोलाहल मच्चाएको छ। आफन्तले आफ्ना आफन्तलाई आफ्नो तरीकाले सतिगति गर्नको कुरा त परै जाओस्, अन्तिम क्षणको मुख पनि हेर्न नपाएको अवस्था छ भने कतिका स–साना बालबालिकाहरु आफ्ना अभिभावकलाई सम्झी गगनतर्फ फर्केर बोलाएको देख्दा मनै कटक्क नहुने को होला र यो धर्तीमा ? यस्तो भयावह स्थितिको सिर्जना हुन्छ भन्ने कुरा न त विश्वका अन्वेषक, महान वैज्ञानिक, चिकित्सक, अभियान्तालाई नै थाहा थियो, न हामी जस्ता बहुसंख्यक नागरिकलाई नै।

अहिलेको अवस्थालाई हेर्ने हो भने महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रवाभित भएको देश हो। आजसम्मको तथ्यांकअनुसार अमेरिकामा ६ लाख ७८ हजार २ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ३४ हजार ६ सय ४१ जनाको मृत्यृ भइसकेको छ। लास व्यवस्थापन गर्न अत्यन्त कठिन भइरहेको छ, केही समय पहिला अमेरिकन राष्ट्रपतिले भनेका थिए, ‘चाइनिज भाइरसले हामीलाई केही गर्दैन, माक्स लगाउन पदैन र अमेरिका बन्द गर्न बनेको पनि होइन।’ बेलैमा सचेत भएको भए यो भयावह अवस्था आउने थिएन।

यस्तो अवस्था हुँदा मेरो मनमा एउटा कुराको सम्झना आयो। केही महिनाअघि एउटा साथी मेरो अफिसमा आएको थियो, उसले भनेको कुरा मेरो मानसपटलमा झल्झली याद आइरहेको छ। उसले भनेको थियो, “सपनाको देश अमेरिकाले मलाई बोलायो। म त जानुपर्ने भयो, यो देशमा केही नहुने भयो।” ऊ गएको अस्ति भर्खरजस्तो लाग्छ, अहिले त्यो साथीले के गर्दै होला, के सोच्दै होला। यो त एउटा दृष्टान्त मात्र हो, सपनाको संसारमा रमाउँदै अमेरिका छिरेका हजारौं नेपाली अहिले कोरोनाविरुद्ध संघर्षमा छन्।

२०७६ माघ १० गते काठमाडौंमा पहिलोचोटी कोरोना संक्रमण पुष्टि भएको थियो। यो नै यस्तो एउटा सूचक थियो, जसले नेपालमा महामारीको सम्भावित पूर्वसंकेत गरेको थियो। ती कोरोना पुष्टि भएका पहिलो व्यक्तिमा हल्का लक्षण देखियो र एक हप्ताअघि नै उनलाई डिस्चार्ज गरियो घरमै स्व–क्वारेन्टाइनको बस्न निर्देशन दियो र पछि पूर्ण रुपमा स्वस्थ भएको पुष्टि भयो।

माघ र फागुनमा नेपालले यस रोगको व्यापक प्रकोप रोक्नका लागि धेरै कदमहरु चालेको थियो, जबकि आवश्यक पर्ने आपूर्ति, उपकरण र औषधी किन्नका लागि, स्वास्थ्य पूर्वाधारको स्तरोन्नति गर्ने, स्वास्थ्यकर्मीहरुलाई तालिम र जनचेतना फैलाउने काम गर्‍यो भने रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायत स्थानीय सञ्चार माध्यमबाट पनि कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउँदै गयो। नेपालले अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सीमा चौकीहरुमा स्वास्थ्य–डेस्क स्थापना गर्‍यो। चैतको १० गते काठमाडौंमा दोस्रो कोरोना भाइरसको बिरामी देखिएपछि सरकार कडा कदम चाल्न बाध्य भयो। त्यसपछि भारत र चीनको सीमाहरु पूर्ण रुपमा सील गरियो, पहिला कोरोना प्रभावित भएका देशका अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरियो। क्रमशः सबै राष्ट्रिय अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरियो। सबै परीक्षाहरु रद्द गरिए, स्कूल र कलेजहरु पूर्ण रुपमा बन्द भए।

सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा नहुन, सभा, सम्मेलन नगर्न र भोज–भतेर गर्न पूर्ण रुपमा बन्देज लगायो। क्वारेन्टाइन केन्द्रहरु र अस्थायी अस्पतालहरु आइसीयू एकाइहरु र पृथक बेडहरु स्थापना गरिए र अहिलेसम्म पनि हुँदैछन्। प्रयोगशाला सुविधाहरु अपग्रेड र बिस्तार हुँदैछ। अस्पतालहरुले आइसीयू एकाइहरु र पृथक बेडहरु स्थापना गर्दैछन्। सार्क देशहरुले यस क्षेत्रमा रोग नियन्त्रणमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। भारत, संयुक्त राज्य अमेरिका र जर्मनीले नेपालमा स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोग बढाएका छन्।

कोभिड–१९ का कारण भ्रमण वर्ष २०२० का सबै सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रमहरु, प्रचार प्रसार गर्ने गतिविधिहरु रद्द गरियो। वैदेशिक रोजगार, पर्यटन, निर्माण र व्यापारमा यसको प्रभावका कारण अर्थव्यवस्था महामारीबाट गम्भीर रुपमा प्रभावित हुने आशंका गरिएको छ। कोरोनाको सबैभन्दा ठूलो असर विप्रेषण, पर्यटन र विद्युत व्यापारका क्षेत्रमा समेत देखिने अर्थशास्त्रीहरुको प्रारम्भिक अनुमान छ।

नेपाल भर्खरै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रको दिशामा फड्को हान्दैछ। नेपाल सबैभन्दा सघन जनसंख्या भएको क्षेत्र, जसले शिक्षाका साथसाथै स्वास्थ्य र सरसफाइमा विश्व स्वास्थ्य संगठनको आँकडामा धेरै पछाडि पर्दछ। त्यसैले यो महामारीको उच्च जोखिम क्षेत्रहरुमध्ये एक मानिन्छ। त्यसमाथि खुला सीमा हाम्रा लागि अझै ठूलो चुनौती बनेर उभिएको छ।

एक अध्ययनअनुसार महामारीअघि नेपालका अस्पतालहरुमा थोरै आइसीयू बेडहरु थिए (टेकु अस्पतालमा तीन बेड) जुन सधैं एउटै ठाउँमा राखिएको थियो र गम्भीर अवस्थामा रहेका मानिसहरु प्रायः बेडहरु खाली हुञ्जेल पर्खिन पर्दथ्यो। यसकारण डाक्टरहरुले नयाँ बिरामी आइसीयूमा भर्ना गर्नु असम्भव हुन्छ, जतिसक्दो छिटो राम्रो अस्पताल बनाउनुपर्छ भनेर सम्बन्धित निकायलाई सुझाएका थिए। यसरी संक्रमित रोगलाई सम्बोधन गर्नका लागि अत्याधुनिक एकमात्र टेकु अस्पतालले एक दशक अगाडि एभिएन इन्फ्लुएन्जा प्रकोपको बेला एक आइसोलशन वार्ड निर्माण गरिसकेको थियो, तर यसलाई प्रयोगमा ल्याएको थिएन, किनकि यसलाई आवश्यक पर्ने त्यस स्तरका विशेषज्ञहरु नै हामीसँग थिएनन्।

चीनमा एउटा नयाँ संक्रामक रोगको खबरपछि नेपालमा सम्भावित उच्च जोखिम, रोकथामका उपाय, आवश्यक चिकित्सा उपकरण र पूर्वाधारको अभावका सबैतिर चिन्ता देखापर्‍यो। एपिडेमिलोजी र रोग नियन्त्रण डिभिजनका पूर्वनिर्देशक बाबुराम मरासिनीका अनुसार नेपालमा अत्यधिक संक्रामक बिरामीहरुलाई सुरक्षित रुपमा ढुवानी गर्न अस्पतालमा अलग्गै वार्ड वा बायोसेफ्टी लेभल ३ वा उच्च संक्रामक रोगहरुको परीक्षणका निम्ति राम्रो प्रयोगशालाहरुको लागि कुनै डबल क्याब एम्बुलेन्स छैन।

१४ अप्रिल २०२० सम्म १६ जनालाई कोरोना भएको पुष्टि भइसकेको छ। रौतहट र कञ्चनपुरमा एक–एक, बाग्लु¨मा दुई, पर्सामा एक, काठमाडौंमा तीन र कैलाली जिल्लामा चार संक्रमण देखिएका छन्। तीमध्ये तीन जना नेपालमा बस्ने भारतीय नागरिक थिए। नेपालमा स्थानीयमा चैत्रमा पहिलो संक्रमण कैलालीकी ३४ वर्षिया महिलामा पुष्टि भयो।

यस्ता महामारी र संकटहरु विश्वमा आइरहेका हुन्छन् र यस्ता संकटहरु धेरै चुनौतीपूर्ण भए पनि देशले अवसरमा बदल्न सक्नुपर्दछ। तर यहाँ कसैलाई भने स्वर्ग हुने रहेछ। यसलाई गौण वा महामारीका बेलाको विषय पनि मान्लान्। तर समस्यालाई निर्मुल पार्ने र नयाँ कामको पनि थालनी गर्नुपर्ने बेली यही नै हो। सरकारले जिम्मेवारीपूर्ण भूमिका पनि यही बेला नै खेल्नुपर्ने हुन्छ।

अब हाम्रो देशतिर फर्केर हेरौं, शक्तिशाली राष्ट्रलाई आच्छुआच्छु बनाएको कारोना भाइरसबाट नेपाल अछुतो रहने भन्ने कुरा नै आउँदैन। आखिर नेपालमा पनि प्रवेश गर्‍यो। हामी त गोरखालीको छोरा हौं, हामीलाई केही गर्न सक्दैन भन्ने पनि कता कता सुन्न पाइयो र लकडाउनको अवस्थामा पनि बाटो बाटोमा काम नपरी हिडेको पनि देखियो। पुलिसले कारवाही गरेको पनि देखियो।

हाम्रो देश नेपालमा पनि कोरोना भाइरसबाट बिरामीको संख्या दिनदिनै बढीरहेको छ। १६ जनालाई लागिसकेको छ, धेरै मान्छे क्वारेनटाइनमा छन्। आज लकडाउन भएको पनि २४ दिन भइसकेको छ। विश्वको जस्तो तालाबन्दी हाम्रो देशमा पनि भइरहेको छ। सरकारी र निजी कार्यालयहरु, स्कूलहरु, विश्वविद्यालय, कलेज, बैंकिङ क्षेत्र, संस्थानहरु, कलकारखानाहरु, उद्योगधन्दाहरु बन्द छन्। देशले कल्पना नै गर्न नसकिने आर्थिकि घाटा बेहोर्नुपरेको छ। कोरोनाबाट आउने महामारीबाट कसरी बच्ने र नियन्त्रण गर्ने भन्ने चुनौती उत्तिकै रहेको छ।

ठूल–ठूला शहरबाट गाउँ फर्कनेको ताँती नै देख्न सकिन्छ। घण्टौं हिडेर आफ्नो घर पुग्ने लक्ष्य लिएर हिडेका दृश्यले सञ्चार माध्यम र सामाजिक सञ्जाल रंगिएका छन्। दैनिक ज्यालादारी गरी खाने र न्यून आय भएका जनता जो छन्, बिहान खाए बेलुका के खाने भन्ने चिन्ता जसलाई छ, तिनीहरुलाई हातमुख जोड्न धौधौ भइरहेको छ। सरकारले राहतको प्याकेज त घोषणा गरेको छ। तर प्रभावकारी हुन सकेको छैन। प्रभावकारी भएको भए रातारात पैदलको बाटो तय गरेर काठमाडौंदेखि हप्तौं लाग्ने गन्तव्यतिर मञ्जदुरहरु ज्यानको वास्ता नगरी रात दिन लगाएर एक मुठ्ठी चिउरा र एक बोत्तल पानीको भरमा आफ्नो परिवारलाई भेट्ने सपना बोकेर हिँड्दैनथे। यो दृश्य हेर्दा हिँड्नेको भन्दा बस्नेको मन रुवाउँछ।

कोरोना भाइरसको महामारी भएको अवस्थामा खाडी मुलूकहरुले विभिन्न देशका कामदार फिर्ता लैजान दबाब दिइरहेका छन्। कति मुलुकले आफ्ना कामदार फिर्ता लैजाने पहल थालेका छन्। तर, वैदेशिक रोजगारीमा गएका कामदारलाई फिर्ता गर्न विभिन्न मुलूकले दिएको दबाबलाई नेपाल सरकारले बेवास्ता गरेको देखिन्छ। अन्य मुलूकले आफ्नो कामदार फिर्ता लैजाने प्रक्रिया अघि बढाएका छन्। तर, नेपालले चाहिँ छलफलको चरणमा सीमित राखेको छ।

वैदेशिक रोजगारीमा रहेका कामदारहरु फटाफट आफ्नो देशमा फर्कन थालेका छन्। कतिलाई कम्पनीले जागिरबाट निकालिदिएका छन्। कति आफूखुशी फर्कन थालेका छन्। यसरी विभिन्न ८० देशमा रहेका नेपाली श्रमिक र बौद्धिक जमातहरु आफ्नो देश फर्कनु भनेको चुनौती मात्र होइन, नेपाललाई अवसर पनि हुन सक्छ। भनिन्छ, ‘जहाँ चुनौती बढी हुन्छ, त्यहाँ अवसर पनि हुन्छ। तर, चुनौतीलाई अवसरमा बदल्न इच्छाशक्ति र योजना चाहिन्छ।’

यसरी कोरोना भारसको डरले सबै विदेसिएका दाजुभाइ, दिदीबहिनी नेपाल फर्किने अनुकूल वातावरण सरकारले बनाउने हो, यो मौकालाई अवसरमा बदल्ने हो भने नेपालका खेतीयोग्य जमिन मात्र होइन, गाउँगाउँका कुना कुनामा भएका सबै खेती गर्न मिल्ने जमिन हराभरा हुने थियो। गाउँबाट शहर फर्किन, विदेश पलायन हुन रोक्ने समय यही हुन सक्छ। नेपालका एक्ला भएका गाउँहरु मख्ख हुने थिए। फेरि गाउँमा भएका अग्रजहरु, जो जीवनको उत्तरार्धमा पुग्नुभएको छ, उहाँहरुले पहिलाका दिनहरु सम्झनुहुन्थ्यो। रित्तिएका गाउँपाखाहरु पनि खुशी हुने थिए। यस्तो अवस्था सिर्जना हुनु भनेको कोरोना भाइरस नै प्रमुख कारण मान्न सकिन्छ।

अब चाहिँ राम्रो मौका आएको छ। नेताहरुले भाषणमा सबै जनतालाई गाउँमा बस्ने वातावरण बनाउँछौं, कोही विदेश जानु पदै, गएकालाई पनि बोलाउँछौं भनेको हामी सुन्दै आएका थियौं। अब सरकारले फिर्ता बोलाउन केही गर्नु परेन, सबै नेपाली देश फर्किन खोज्दैछन्, गाउँ फर्केका छन्। नेपाल सरकारले शहरबाट गाउँ र विदेशबाट स्वदेश फर्केका सबै श्रमिक, बौद्धिक जमातलाई गाउँमा बस्ने वातावरण सिर्जना गर्ने यो उपयुक्त समय हो।

नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन, सबै खत्तम छ, पढेर पनि केही जागिर पाइँदैन, सबै कुरा राम्रो नै छैन, विदेश नै जानुपर्छ भन्ने युवाहरुको ठूलो जमात नै स्वदेश फर्केका छन्। गाउँबाट शहर पसेका युवाहरु पनि गाउँ नै पसेका छन्। नेपालले यस्तो बेला नसोचेर कहिले सोच्ने ? अहिले धेरै बौद्धिक जमातहरु अष्टे«लिया, अमेरिका, बेलायत जस्ता मुलूकबाट आफ्नो देश आउन चाहन्छन्। यस्तै धेरै मेहेनती श्रमिक युवाहरु पनि खाडी मुलूकबाट नेपाल फर्कन चाहन्छन्। पर्याप्त स्वास्थ्य सतर्कतासहित उनीहरुलाई नेपाल ल्याउन ढिलाइ गर्नु हुँदैन।

सबै विदेशीमा रहेका नेपाली दाजुभाइहरु नेपाल फर्किनु भनेको सुखद पक्ष हो। २०७२ को विनाशकारी भूकम्पपछिको स्थितिलाई मान्छेहरुले भुलेजस्तो नभुल्ने हो भने अब विदेशबाट स्वदेश फर्केका नेपाली दाजुभाइलाई कृषिमा क्रान्ति गर्ने वातावरण बनाउनुपर्छ। सबै नेपालको बेरोजगारी हटाउने समय आएको छ। सबैतिर रोजगारी सिर्जना गर्ने समय आएको छ।

देशका हिमाल, पहाड र तराईका जमिनमा माटो सुहाउँदो खेती, फलफूलदेखि सबै प्रकारको खेती आधुनिक तरीकाले गर्ने बेला आएको छ। बाख्रापालनदेखि कुखुरापालन लगायतका पशुपालन शुरु गर्नुपर्दछ। मुस्ताङको स्याउ बजार बजारमा पुर्‍याउनुपर्छ। कृषिको नयाँ प्रविधि भित्र्याउनुपर्दछ र कृषिमा आत्म निर्भर हुनुपर्छ। विदेशमा गएका युवाहरुको सीपलाई सही सदुपयोग गर्ने देशमा वातारण बनाउनु राम्रो हुन्छ। उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ। ठूल–ठूला बन्द भएका उद्योगहरु सञ्चालन गर्नुपर्दछ। देशमा जतिसक्दो उत्पादन बढाउनुपर्छ।

माथिल्लो तहबाट नै ठाउँठाउँमा क्याम्पियन चलाउनु आवश्यक छ। यसमा सबैतिरबाट सरकारलाई साथ दिनुपर्छ। अब कुनै पनि खेतीयोग्य जमिन खाली राख्नु हुँदैन। शहरमा भएका प्रत्येक घरघरका मान्छेहरुले पनि बगैंचालाई हटाएर करेसाबारी बनाउनुपर्दछ। अब कृषिमन्त्रीले नै कृषि मन्त्रालयको बगैंचालाई हटाएर करेसाबारी बनाउनुपर्दछ अनि सबैले यसको अनुशरण गर्नुपर्दछ।

यसरी कृषिलाई प्रत्साहन नगर्ने हो भने हाम्रो देशमा कोभिड–१९ को महामारीभन्दा पनि भोकमरीको महामारी हुने निश्चितप्राय छ। किनकि देशको कृषि उत्पादन दिनानुदिन घटीरहेको छ। यो सन्देश सम्बन्धित निकायले बेलैमा बुझ्न जरुरी छ। सरकारलाई धेरै चुनौती त छँदैछ। तर चुनौतीका बाबजुद धेरै अवसरका बाटो खुलेका छन्। चुनौतीलाई अवसरमा बदलौं।

‘‘घरमै बसौं, नराम्रो नहेरौं, नराम्रो नसुनौं।”

[email protected]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्