काठमाडौं, ५ वैशाख। लकडाउनका बेला काठमाडौंमा बसोबास गर्ने पर्वतबासीलाई कुनै समस्या परे सघाउने उद्देश्यका साथ अनौपचारिक सञ्जाल गठन गरिएको छ। शुक्रबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको सञ्जालमा पर्वत घर भई काठमाडौंमा बसोबास गर्ने सामाजिक अगुवाहरु रहेका छन्।
लकडाउनको समयमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको समस्या भएमा, स्वास्थ्य समस्याका कारण अस्पतालसम्म जानु परेमा वा अरु कुनै समस्या परेमा सरकार र विभिन्न संघसंस्थासँग समन्वय र सहयोग गर्ने उद्देश्यले सञ्जालको गठन गरिएको हो। अनौपचारिक सञ्जालले शुक्रबार एक अपील जारी गर्दै कुनै समस्या परेमा सम्पर्क रहन पनि अनुरोध गरेको छ।
अपीलमा भनिएको छ, ‘मुलूक अहिले कोरोना महामारीसँग लडिरहेको अप्ठ्यारो अवस्थामा छ। महामारी फैलिन नदिन लकडाउन (बन्दाबन्दी) वैशाख १५ सम्म लम्बिएको छ। त्यसपछिको अवस्था पनि भन्न नसकिने छ। दैनिक आर्थिक क्रियाकलाप ठप्प छन्। पर्वत जिल्लादेखि काठमाडौं आई दैनिक ज्यालामा मजदुरी गर्नेहरुको जीवन कठिन हुँदै गएको छ।’
‘यस किसिमको असहज परिरिस्थतिमा विभिन्न व्यक्ति र घर परिवारमा स्वास्थ्य लगायतका अन्य समस्याले पनि पिरोलिरहेको छ। बिरामी हुँदा कहाँ र कसरी जाने जस्ता समस्या पनि भोग्नु परिरहेको छ।’ अपीलमा भनिएको छ, ‘पर्वतबाट काठमाडौं आई बसोबास गरिरहनुभएका आदरणीय सम्पूर्ण महानुभाव तथा दैनिक जीवन धान्न कठिनाई परेकाहरुको समस्यालाई सरकारी निकाय तथा स्थानीय सरकार दुवैतिर आवश्यक समन्वय र सहयोग गर्न हाललाई यो अनौपचारिक सञ्जाल बनाइएको छ।’
‘आपतमा परेका जिल्लाबासीका लागि मानवीय सहयोग र आवश्यक समन्वय गर्ने उद्देश्यले यो समूह स्वयंसेवी रुपले परिचालित हुनेछ। तसर्थ पर्वतबाट काठमाडौं आई बसोबास गर्ने कुनै पनि पर्वतबासी परिवारजनमा कठिनाई र सहयोगको आवश्यकता भए यस समूहमा आवद्ध जो कोही व्यक्तिलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।’ अपीलमा भनिएको छ।




लोकपाटी न्यूज
