प्रदेश एकमा कोरोना परीक्षण कति ?

coronavirus-test-kiti
लोकपाटी न्यूज

विराटनगर, ४ वैशाख। प्रदेश १ मा बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ। जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ। बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ।

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआरबाट परीक्षण गर्दा आज नेगेटिभ आएको हो।

ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ६५ महिला र २ सय ७६ पुरुष छन्। परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गरिएकामध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार हालसम्म दुबै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ छ। अर्थात् कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ। प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तिव्रता दिएको जनाएको छ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल ५ सय ६८ जना छ। जसमा ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन्। क्वरोन्टाइनमा ६८ महिला र ५ सय पुरुष बसिरहेका छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन्। अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन्।

होम क्वारेन्टाइनमा ६ सय ३५ महिला र ३ हजार एक सय ८१ पुरुष गरी जम्मा जम्मा ३ हजार ८ सय १६ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेकोे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्