कोरोना महामारी : प्रकृतिसँग संघर्ष कि सम्झौता ?

Chhabi Shripali
बाघले पेट भरिसकेपछि भोक नलागुञ्जेल अर्को शिकार गर्दैन। तर हामी मानव हाम्रा उचित अनुचित सबै आवश्यकताहरू प्रकृतिमाथि थोपरिरहन्छौ। हाम्रो अनुचित लोभ र प्रकृतिमाथि विजय प्राप्त गर्ने हठी स्वाभावले पृथ्वी दिनप्रतिदिन जीवनको लागि प्रतिकूल बन्दैछ।
लोकपाटी न्यूज

छवि श्रीपाली

उहिल्यै माथल्स बराजुले भनेका थिए, “जनसंख्या बढ्दै जाँदा प्राकृतिक स्रोत र साधन दोहनको चाप बढ्दै जान्छ र चाप अत्यधिक भएपछि प्राकृतिक असन्तुलन देखिन थाल्छ। मान्छेले जनसंख्या र प्राकृतिक स्रोत र साधन दोहनको सन्तुलन नमिलाउने हो भने प्रकृति आफै मिलाउन थाल्छ।’’ भोकमरी, महामारी र प्राकृतिक विपत्तिहरू प्रकृतिमाथिको अत्याचारको परिणाम हो। विकास र आधुनिकताको नाममा हामी यति अन्धो भयौं कि आफै खस्ने भड्खालो निर्माण गर्दै गयौं। हामी हावा, पानी, सूर्य, जमिन, आकाश सबै हाम्रो नियन्त्रणमा राख्न उदत्त छौं। कोरोनाले हामीलाई तडकभडक र भत्किलो जीवन होइन, सरल र प्रकृतिमैत्री भएर बाँच्नुपर्छ भन्ने पाठ सिकाउँदै छ।

प्रकृतिको चरम दोहनको प्रक्रिया नरोकिने हो भने मानव समाजले अझै ठूल–ठूला विपत्तिहरूको सामना गरिरहनुपर्नेछ। आधुनिकताको नाममा निर्माण भएका भीमकाय संरचनाहरूले हामीलाई माटोको स्पर्श र हावाको स्वच्छतालाई महसुस गर्न दिएकै छैनन्। हामी सूर्यको अनुभूतिबाट टाढिदै गएका छौं। हामीले हाम्रो जीवनशैलीलाई प्रकृतिको साँचोभित्र होइन, हाम्रो आफ्नै साँचोभित्र चलाउने कोसिस गरिरहेका छौं। जब जब मानव समाजले प्राकृतिको नियमविरुद्ध धावा बोल्यो, तब तब प्रकृतिले पनि मानव अस्तित्वमाथि प्रतिप्रहार गरिरह्यो।

हामी प्रकृतिलाई जित्न खोज्छौं। तर प्रकृति हामीलाई जित्न दिँदैन। यहाँ प्रश्न उठ्छ, प्राकृतिक स्रोत र साधनहरूको दोहन गरिएन र गरेनौं भने मानव समाज कसरी अगाडि बढ्छ ? यहाँ भन्न खोजिएको के हो भने प्रकृतिको दोहन हाम्रा आवश्यकताहरूको परिपूर्तिका निम्ति मात्र गरौं। हाम्रा ईच्छाहरूलाई प्रकृतिमाथि थोपरेर प्रकृतिमाथि अत्याचार नगरौं।
हामीलाई ट्विन टावर वा बुर्ज खलिफाहरू भएनन् भने मानव समाज अगाडि बढ्न सक्दैनन् भन्ने भ्रम छ। समुन्द्रको माझमा आलिशान होटेल बनाएनौं भने के मानव समाज संकटमा पर्छ ? के गहुँलाई ठूल–ठूला प्रशोधन केन्द्रमा प्रशोधन गरिएन भने भोक मेटाउन सकिँदैन ?

प्रकृतिको अति दोहन गरेर अनावश्यक संरचनाहरू खडा किन गर्नुपर्‍यो ? युरिनियमको दोहन गरेर उर्जा उत्पादन गर्नसम्म जायज मान्न सकिएला। तर आणविक हतायार उत्पादनलाई जायज किन मान्ने ? जहाजले मानव समाजलाई अघि बढायो के लडाकु जहाज उत्पादनलाई सही भन्न सकिन्छ। अन्य जीवबाट आफ्नो अस्तित्व जोगाउन बनाइएका हतियारहरू सम्मलाई जायज मानौं के विश्वलाई नै ध्वस्त बनाउन सक्ने आणविक र रासायनिक हतियारहरु हामीलाई आवश्यक छ ?

हाम्रा आवश्यकताहरू पूरा भए। तर हाम्रो लोभको भाँडो कहिले पनि भरिएन। हामी प्रकृतिका लागि असभ्य जंगली जीवभन्दा पनि भयानक र खतरनाक भइसकेका छौं। धर्तीमा कुनै पनि अर्को जीव छैन पेट भरिएपछि (आवश्यकता पूर्ति) पनि प्रकृतिको दोहन गरिरहने तर हामी हाम्रो बर्कतले भ्याएसम्म प्रकृतिको दोहन गर्छौं। बाघले पेट भरिसकेपछि भोक नलागुञ्जेल अर्को शिकार गर्दैन। तर हामी मानव हाम्रा उचित अनुचित सबै आवश्यकताहरू प्रकृतिमाथि थोपरिरहन्छौ। हाम्रो अनुचित लोभ र प्रकृतिमाथि विजय प्राप्त गर्ने हठी स्वाभावले पृथ्वी दिनप्रतिदिन जीवनको लागि प्रतिकूल बन्दैछ। ग्लोवल वार्मिङ्गको कारणले हिमालय र अन्टार्टिका पग्लेर नाङ्गै हुँदैछन्। समुन्द्रमा पानीको सतह बढ्दै छ।

प्राकृतिक सन्तुलन नै असामान्य हुने गरी प्राकृतिको दोहन हालकै गतिमा गरिरहने हो भने मानव समाजले यस्ता त्रासदीपूर्ण दिनहरू आउने प्रत्येक दशकहरूमा देखिरहनुपर्नेछ। अब हामीले हाम्रो जीवनशैलीमाथि कठोर समीक्षा गर्नैपर्छ। हाम्रा दैनिकीहरू प्रकृति अनुकूल छन् कि छैनन् ? आवश्यकताअनुसार प्रकृतिको दोहन र उपयोग गरौं। प्रकृतिसँग आवश्यकताअनुसार सम्झौता र संघर्ष गरौं। लोभका सीमानाहरू बन्द गरौं। प्रकृतिले हामालाई प्रतिप्रहार गर्दा रोग, भोक र शोक सँगसँगै आउने रहेछन् भन्ने कोरोनाको कहरले हामीलाई सिकाएको पाठ हो।

आउँदा दशकहरूमा मानव समाजलाई सरल र सहज बनाउने बाटोहरू खोजौं। प्रकृतिमाथिको अत्याचारलाई कम गर्दै हामीले हाम्रो पृथ्वीलाई जोगाएर अर्को पुस्तालाई हस्तान्तरण गर्नुछ। आउ, सबै जना प्रण गरौं, हामी प्रकृतिको अनुकूल भएर बाँच्नेछौं। घरमै बसौं, कोरोना रोकौं, सुरक्षित रहौं, स्वस्थ रहौं।

(श्रीपाली राष्ट्रिय युवा संघ तमानखोला गाउँपालिकाका संयोजक हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्