काठमाडौं,४ बैशाख। एनआईसी एसिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ५ लाख रकम प्रदान गरेको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ रोगको संक्रमणलाई फैलिन नदिन एवं सो को रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले बैंकले रू १५/१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम आर्थिक सहयोग गरेको हो।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै मुलुकलाई परेको पिडामा सघाउ पुर्याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको हो। उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट रू ५ लाख समावेश गरी रू १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको हो। कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत क्षेत्रहरू प्रभावित भैरहेको यस असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोना विरूद्ध लड्नका लागि प्रदान गरेको हो।
एनआईसी एसिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा रू ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको छ। यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदूरी गर्नेहरूका परिवारलाई केहि भएपनि राहत मिलेको विश्वास बैंकले लिएको छ ।
यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।


लोकपाटी न्यूज

