भारत। भारतको प्रमूख ६ शहर कोरोना भाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ । भारतको राजधानी नयाँ दिल्ली र आर्थिक राजधानी मुम्बईसहित ६ शहर कोरोनाभाइरस संक्रमणको ‘रेड जोन’मा परेका हुन्।
भारत सरकारले मंगलबार जारी गरेको निर्दे्शिकामा संक्रमणको तहको आधारमा छ वटै शहरलाई ‘रेड जोन’मा राखिएको हो। ‘रेड जोन’ले संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र देखाउँछ। केही मात्रै संक्रमित रहेको क्षेत्रलाई ‘ओरेन्ज जोन’ र संक्रमण नदेखिएको क्षेत्रलाई भने ‘ग्रीन जोन’मा विभाजन गरिएको छ। ‘ग्रीन जोन’मा भने कुनै शहर छैन।
देशका १७० जिल्लालाई ‘रेड जोन’मा विभाजन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २०७ जिल्ला उच्च निगरानीमा छन्। दिल्ली र मुम्बई बाहेक चेन्नई, बैंग्लोर, कलकत्ता र हैदराबादलाई ‘रेड जोन’मा राखिएको छ । यी शहरस्थित प्रमुख औद्योगिक उत्पादन क्षेत्र समेत ‘रेड जोन’मा राखिएको हो। संघीय सरकारले राज्यलाई एक साताभित्र यी क्षेत्रमा युद्धस्तरमा कोरोनाभाइरस संक्रमणको परीक्षण सुरु गर्न निर्दे्िशका जारी गरेको छ । निर्दे्िशकामा छिटोभन्दा छिटो संक्रमण न्यूनिकरण गर्न उपाय अपनाउँदै ‘रेड जोन’लाई ‘ओरेन्ज’हुँदै संक्रमण मुक्त बनाउन उपायहरु सुझाइएको छ ।
२८ दिनसम्म नयाँ संक्रमित नथपिएको अवस्थामा ‘ओरेन्ज जोन’मा परिण गरिनेछ। १४ दिनसम्म कुनै नयाँ संक्रमित फेला नपरेको अवस्थामा ‘ओरेन्ज जोन’लाई संक्रमण मुक्त घोषणा गरिने बताइएको हो। राज्य सरकारले यसअघि नै भारी संख्यामा परीक्षण सञ्चालन गर्ने प्रकृया अबलम्बन गरिसकेको छ। विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड बमोजिम एकैपटक भारी संख्यामा स्वाब संकलन गरिनेछ। एकै समयमा बहुसंख्यक व्यक्तिबाट संकलित स्वाबलाई नलीमा राखेर एकै समयमा परीक्षणको व्यवस्था गरिएको उपकरणमा राखेर संक्रमणको अवस्था पत्ता लगाइनेछ।
बीबीसीका अनुसार एकैपटकमा गरिने परीक्षणमा संकलित स्वाबमा संक्रमण नदेखिएको अवस्थामा सबैजना संक्रमणबाट मुक्त भएको ठहरिनेछ । संकलित स्वाबमा संक्रमणको पुष्टि भएको अवस्थामा सबैलाई बेग्लाबेग्लै पुनः परीक्षण गरेर बिरामी विशेषलाई पहिचान गरी अलग गरिनेछ। भारतमा कुल ७२० जिल्ला रहेको छ। ४२० जिल्लामा कोरोनाभाइरसको संक्रमण पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब १४ हजार पुगेको छ । १० हजार ४७७ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय पाइएको छ । एक हजार ४८९ जना संक्रमित निको भएर घर फर्केका छन्। ४२३ जनाको संक्रमणपछि मृत्यु भएको छ।



लोकपाटी न्यूज

