अमानवीय निर्णय : अब पैदल हिँडेर गाउँ जानेलाई मुद्दा

corona-12
लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृहप्रशासनलाई निर्देशन दिएको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको हो।

ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएकाले मुद्दा चलाउन नै निर्देशन दिएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए। पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो। उपत्यकालगायत विभिन्न ठाउँबाट खासगरी मजदुरहरू कैयौँ दिन हिँडेर घर फर्किरहेका छन्। काम बन्द भएसँगै खानै समस्या भएकाले जोखिम र कष्ट व्यहोरेरै गाउँ जान बाध्य हुनुपरेको उनीहरूको गुनासो छ। हिँडेर घर फर्किन पूर्ण रूपमा रोकेसँगै गाँसको व्यवस्था नगर्ने हो भने सहरी क्षेत्रमा धेरै मजदुर भोकभोकै रहने अवस्था रहन्छ।

समितिले खाद्यान्न पसलहरूमा हुने भीडबाट समेत जोखिम रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । लकडाउन पालना नगर्ने अन्यलाई पनि मुद्दा चलाउन भनेको छ। लकडाउन कडाइ गर्ने क्रममा प्रशासनले परिवारभित्रै भएको मृत्युमा मलामी जानबाहेक पास दिनसमेत बन्द गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्