काठमाडौं, ३ बैशाख। सप्तरीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएका दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। मंगलबार गरिएको आरडीटी परिक्षणमा तिलाठी कोइलाडी- १ र खडक नगरपालिका-११ बनौलीका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।
आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुको स्वाब पीसीआर परिक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो। बुधबार पीसीआर परीक्षणमा दुबै जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो। यसैबिच, र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरस पोजेटिभ देखिएका काभ्रेका दुई जनाको प्रयोगशाला परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
मंगलबार आरटीडीमा पोजेटिभ देखिएपछि उनीहरुको आज धुलिखेल अस्पतालमा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएको हो। उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका वासिन्दा थिए। पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ। हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाको कोरोना परीक्षण गरिएको छ।



लोकपाटी न्यूज

