आधुनिक धृतराष्ट र धर्म–छोराहरु

Dharmaraj Subedi
यदि पाण्डवले अझै पनि अधिकार पाउँदैनन् भने महाभारतको युद्ध फेरि दोहोरिनेछ, जहाँ कथित धर्मछोराहरु मुला काटिएसरि काटिनेछन्। तर प्रधानमन्त्रीज्यू, त्यतिबेला पनि मुस्कुराइरहेको हुनुहुनेछ किनभने बालुवाटारका सञ्जयहरुले साँचो बोल्न छोडेको धेरै वर्ष भयो। विरोध र आलोचनासँग डराएर मिडियामाथि जाइलाग्न दुईतिहाइको प्रधानमन्त्रीलाई शोभा दिँदैन। पाँचपटकसम्म देशलाई चुसेका र जङ्गलमा बाँदर धपाउनेसँग जनतालाई विश्वास छैन। जसमाथि विश्वास छैन, उसको बिरोध र आलोचना गर्न जनताले जरुरी पनि ठान्दैनन्।
लोकपाटी न्यूज

धर्मराज सुवेदी ‘राजन’

पूर्वीय दर्शनको एक अद्वितीय दर्शनका रुपमा स्थापित ग्रन्थ महाभारतबारे थाहा नपाउने कम नै छौं होला। महाभारतमा हरेक घटना र पात्रको आ–आफ्नै महत्त्व छ। झट्ट हेर्दा धृतराष्टलाई एक कमजोर र लाचार राजाको रुपमा देखिन्छ, के त्यही सत्य हो त ? भीष्म, बिदुर, दोर्णाचार्य जस्ता विद्वान योद्धाको बीचमा बसेर एक दृष्टिबिहीनले राज्य हाक्नु चानेचुने कुरा होइन। उनको समयमा हस्तिनापुर समस्त भारत वर्षमै सर्वाधिक शक्तिशाली र आर्थिक रुपमा सम्पन्न राज्य थियो।

यस अर्थमा हेर्दा उनलाई कमजोर राजाको रुपमा हेर्नु अन्याय हुन्छ। तर धृतराष्ट अत्यन्त कमजोर बाबु र निर्णयकर्ता हुन्। राजदरबारमा आफ्नै दुष्ट छोरा र सालोबाट द्रोपतिको चिरहरण र पाण्डवमाथि अत्याचार हुदा मुखदर्शक बने, जुन पछि त्यो नरसंहारको कारण बन्यो। यदि उनबाट यो कूकर्म हुँदैनथ्यो भने सारा भारत वर्ष उनको कौशलको जयजयकार गर्ने थियो र हजारौं वर्षसम्म उनको इतिहास स्वर्ण अक्षरले लेखिने थियो।

आज हजारौं वर्षपछि नेपालको सिंहासनमा धृतराष्टको इतिहास दोहोरिएको आभास हुँदैछ। प्रधानमन्त्री केपी ओली आफैमा राजनेता हुन्। उनको देशभक्ति, विचारधारा र राजनीतिक इतिहासमा कतै खोट लाउन मिल्ने ठाउँ छैन। तर उनको नातावाद, कृपावादमा भने खोट नै खोट छन्। स्यालै स्यालले भरिएको सिंहदरबारका हरेक निर्णयमा व्यक्तिगत लाभ र भ्रष्टाचारको गन्ध आउनु देशको भविष्यका लागि राम्रो होइन। भेन्टिलेटरमा रहेको देशको विकासलाई प्रधानमन्त्री भेन्टिलेटरमै बसेर हाँकिरहेका छन्। यो खासै आपत्तिको कुरा रहेन। तर भेन्टिलेटरमै रहेको प्रधानमन्त्रीको सोच बदलिनु चाहिँ आवश्यक छ।

देशको न्याय, स्वास्थ्य, सञ्चार र सुरक्षा प्रणालीमा ठाडो हस्तक्षेप गर्न अली, रिमाल र पोख्रेल समूहलाई छुट छ। यस्तो अवस्थामा प्राचीन कालकै दुर्योधनको कहानी नदोहोरिएला भन्न सकिन्नँ। अहिलेको जमानामा कौरवहरुले बेरोजगारी, नातावाद, कमिशन, भ्रष्टाचारका रुपमा प्रधानमन्त्रीकै आसेपासेका हातबाट सारा देश कब्जामा राखेका छन्। यस्तै राजनीतिक अस्थिरताले मुलूक आक्रान्त बनेपछि भारत, युरोप र खाडीको तातो बालुवामा बनबास पसेकाहरु यो महामारीपछि बिस्तारै घर फर्कनेछन्।

यदि पाण्डवले अझै पनि अधिकार पाउँदैनन् भने महाभारतको युद्ध फेरि दोहोरिनेछ, जहाँ कथित धर्मछोराहरु मुला काटिएसरि काटिनेछन्। तर प्रधानमन्त्रीज्यू, त्यतिबेला पनि मुस्कुराइरहेको हुनुहुनेछ किनभने बालुवाटारका सञ्जयहरुले साँचो बोल्न छोडेको धेरै वर्ष भयो। विरोध र आलोचनासँग डराएर मिडियामाथि जाइलाग्न दुईतिहाइको प्रधानमन्त्रीलाई शोभा दिँदैन। पाँचपटकसम्म देशलाई चुसेका र जङ्गलमा बाँदर धपाउनेसँग जनतालाई विश्वास छैन। जसमाथि विश्वास छैन, उसको बिरोध र आलोचना गर्न जनताले जरुरी पनि ठान्दैनन्।

भेन्टिलेटरमा देब्रे हातले अक्सिजन समाएरै भए पनि ठोकेका ती हस्ताक्षर देशको हितमा छन् भन्ने ग्यारेन्टी प्रधानमन्त्रीले गर्नैपर्छ, किनकि केपी शर्मा ओलीको एक हस्ताक्षरसँग लाखौं नेपालीको भविष्य जोडिएको छ। यदि मिडियालाई फलाकेर लाटोकोसेरो जसरी सिंहासनमा बस्नुको कुनै अर्थ छैन, जनताले प्रधानमन्त्रीमा अर्जुनजस्तो दूरदर्शीता खोजेका छन्, धृतराष्ट होइन। प्रधानमन्त्री अब निद्राबाट उठ्न जरुरी छ होइन भने जनताको भविष्यमाथि खेलबाड गर्दै धर्मछोराहरु पोसेर आफ्नो इतिहास कलंकित पार्नुसिवाय केही हुनेवाला छैन, चेतना भया।

कुश्मा–८ पर्वत ([email protected])

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्