एनसिई नेपालकाे आग्रह : बालबालिकाकाे सर्वांगिण विकासमा साेचाैं

ece nepal
लोकपाटी न्यूज

निर्मल पौडेल/  पर्वत, २ बैशाख। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिई नेपाल पर्वतले कोरोना महामारीको सन्दर्भमा जिल्लाका सातवटै स्थानीय सरकारहरुसमक्ष शैक्षिक सरोकारका विषय समावेश गर्न अपील गरेको छ। कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाका प्रमूखहरुलाई सम्बोधन गरी उक्त अपील जारी गरिएको हो।

एनसिई नेपाल जिल्ला समन्वय समिति पर्वतका संयोजक यज्ञप्रसाद शर्माद्वारा हस्ताक्षरित अपील पत्रमा सातवटै स्थानीय तहहरुमा इमेलमार्फत् अपील पत्र मंगलबार पठाइएको एनसिई पर्वतले जनाएको छ। कुनै पनि प्रकृतिको महामारी वा आपतकालीन अवस्थामा सबैभन्दा बढी चपेटामा पर्ने भनेकै बालबालिकाहरु र उनीहरुको बाल मस्तिष्क भएको भन्दै उनीहरुमा नकरात्मक प्रभाव आउन नदिन उनीहरुको सिकाइलाई निरन्तरता दिन जोड दिएको छ।बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सबै तहका सरकारहरु, सामाजिक संघरसंस्था, नागरिक समाज, शिक्षक, अभिभावक तथा सबै सरोकारवालाहरुको प्रमूख दायित्व रहेको जनाइएको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘महामारीका कारणले अहिले मुलुक लकडाउनमा छ। विद्यालयहरु बन्द भएका छन्। अब कहिले खुल्ने भन्ने कुराको अन्यौल नै छ। यसका कारणले घरमा बसेका बालबालिकाहरुको नियमित पठनपाठन अबरुद्ध भएको छ। यस अवस्थामा अभिभावकहरुले बालबालिकाहरुलाई घरमा नै केही सिक्ने वातावरण बनाउन सक्दछन्। तसर्थ स्थानीय सरकारमार्फत् जनप्रतिनिधिहरुले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको सकारात्मक ढंगले ख्यालविचार गर्न र उनीहरुलाई मायाममताको वातावरण उपलब्ध गराउनका लागि ध्यानाकर्षण गर्न सक्नुहुन्छ। यसका लागि स्थानीय सरकार अन्तरर्गतको शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, अन्य सम्बन्धित शाखा र विद्यालयहरुमार्फत् बालबालिका केन्द्रीत कार्य अघि बढाउन आग्रह गर्दछौं।’

यसैगरी अपीलमा अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई टेलिभिजन, मोबाइल, इन्टरनेट आदिबाट राम्रा र उपयोगी कुराहरु पढ्ने र सिक्ने वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरिएको छ। यसका साथै स्थानीय एफएम रेडियोहरुबाट विषयगत शिक्षकमार्फत् दिनमा एक घण्टा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अस्थायी व्यवस्था गर्न र स्थानीयह तहभित्र सुनिने रेडियोसँग सहकार्य गरी बिहान, बेलुका वा साझको उपयुक्त समयमा दैनिक रुपमा बालकार्यक्रम सञ्चालन गर्ने प्रबन्ध गर्न स्थानीय तहहरुको ध्यानाकर्षण गरिएको छ।

यसका साथै लामो लकडाउनको समयमा घरमा भएका, क्वारेन्टाईनमा भएका वा अन्यत्र जहाँ रहेका भएपनि बालबालिकाहरुको पोषण ९सन्तुलित खाना० को प्रत्याभूति गरिनुपर्ने विषयलाई पनि हामीले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्नुका साथै विद्यालयहरु बन्द रहेको, घरमा पढ्ने वातावरण उपलब्ध नभएको, के पढ्ने भन्ने कुराको अन्यौल रहेको र घरपरिवारमा खेतीबाली थन्काउने तथा घरेलु कामकाजमा लाग्नुपर्ने वा परिवारका सदस्यहरुलाई सघाउने नाममा बालबालिकाहरुको श्रम शोषण÷बालश्रम हुने सम्भावना धेरै छ, तसर्थ यो विषयलाई पनि ध्यानदिई कुनै पनि बालबालिकामाथि हिंसा नहुने वातावरण बनाउन अनुरोध गरिएको छ।

एनसिई नेपाल पर्वतले जारी गरेका अपीलमा अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा महामारीको वर्तमान अवस्थामा उनीहरुको आवश्यकताअनुसार व्यवस्थापन गर्न स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको ध्यान पुगोस् भन्ने माग गरिएको छ । यसका साथै महामारीको अवस्थामा बालबालिका, अभिभावक, शिक्षक तथा शिक्षा सहयोगीहरुको स्वास्थ्य र सुरक्षालाई विषेश ध्यान दिँदै सुरक्षित तथा स्वस्थ्य वातावरणमा सिकाई आदान प्रदान गर्ने, सफा पानी तथा सरसफाई एवं फेस मास्क, सेनिटाइजरजस्ता कुराहरुको सुनिश्चितता स्थानीय सरकारबाटै गर्न आग्रह पनि गरिएको छ। एनसिई पर्वतले महामारीको रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने सन्दर्भमा विभिन्न विद्यालयहरुमा व्यवस्थापन गरिएका क्वारेन्टाईनहरु नेपाल सरकारले तयार गरेको मापदण्ड पूरा गरी सञ्चालन गर्ने र महामारीको समाप्तीपश्चात् विद्यालयहरुलाई पूर्णरुपमा निर्मलीकरण (निसंक्रमण) गरेर मात्र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने व्यवस्था सुनिश्चित गर्न पनि आव्हान गरेको छ।

अपीलमा महामारीको आघात ९ट्रमा० बाल मस्तिष्कमा धेरै जोखिमयुक्त रहने कुरालाई ध्यान दिई स्थानीय सरकारले नागरिक समाज तथा स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी अहिलेदेखि नै मनोसामाजिक परामर्श सहयोग र विषेश गरी माहामारीको प्रत्यक्ष प्रकोपमा परेका बालबालिकाहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
अपीलमा अल्पसंख्यक, दलित, दलित महिला, बालबालिका, एकल महिला, अपाङगता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी, सडक नागरिक तथा अन्य अप्ठ्यारोमा परेका व्यक्तिहरुको आधारभूत उपचार तथा दैनिक आपूर्तिका बस्तुहरु सहज आपूर्ति र सकेसम्म निःशुल्क राहतका लागि प्रभावकारी व्यवस्थापन गर्न अनुरोध गरिएको छ। एनसिई नेपाल, पर्वतमा आबद्ध अपील जारी गर्ने संस्थाहरुमा सीड नेपाल, निबृत्त शिक्षक समाज, गैसस महासंघ जिल्ला शाखा, सोडेक नेपाल, इन्प्रेड नेपाल, एनडिडिओ, नेपाल अपांग उत्थान समाज, रेडियो कुशुम र आरम्भ नेपाल रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्