कोरोना भाइरसबारे १५ रहस्यमय तथ्य

.Coronavirus taste Lab
लोकपाटी न्यूज

कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्।

कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ। हामी यहाँ यिनै प्रश्नको उत्तर खोज्दैछौँ।

कोरोनाभाइरस के हो ?

आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए। भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो।

त्यसलाई नेपालीमा किरीटाकार विषाणु पनि भन्न सकिन्छ। तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो। सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो।

चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलोपटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो। उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ।

कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ ?

कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ। सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।

सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ। भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर र्पुयाउन सक्छन्।

सङ्क्रमण कसरी थाहा पाउने ?

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड–१९ का मुख्य लक्षण हुन्। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ।

भाइरस शरीर बाहिर कति बाँच्छ ?

केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्।

लक्षण देखिए भने के गर्ने ?

यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ। झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ। तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन्।

सङ्क्रमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ नेपालमा स्वास्थ्य मन्त्रालयले निम्नलिखित नम्बरमा फोन गरेर सल्लाह लिने सुविधा दिएको छः

ती नम्वर हुन्, १११५ र ११३३ (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) ९८५१२५५८३४, ९८५१२५५८३७ र ९८५१२५५८३९ (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म।) तपाईलाई कुनै समस्या परेमा यीमध्ये कुनै एक नम्वरमा फोन गरेर कोरोना भाइरसबारे थप जानकारी र परामर्श लिन सक्नुहुन्छ।

कस्तालाई सङ्क्रमणको बढी जोखिम हुन्छ ?

कोरोनाभाइरस सङ्क्रमण जसलाई पनि हुन सक्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा कोभिड–१९ बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना उच्च हुन्छ। त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ।

अरू गम्भीर रोग भएका व्यक्ति र वृद्धवृद्धालाई सङ्क्रमणको भयो भने यो भाइरसले धेरै दुःख दिन सक्छ। मृगौला रोगी, मधुमेहका बिरामी र दीर्घरोगीलाई कोरोनाभाइरसले छिटो संक्रमण गर्ने वैज्ञानिकहरुले बताएका छन्। तर, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा यसले मूख्यत असर गर्छ।

सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति छ ?

चिकित्साशास्त्रको जर्नल ‘द लान्सिट इन्फेक्शस डिजीजेज’मा प्रकाशित एउटा अध्ययनले सङ्क्रमण भएका व्यक्तिमध्ये झन्डै ०.६६ प्रतिशतको मृत्यु हुने अनुमान गरेको छ। यो मृत्युदर मौसमी फ्लू अर्थात् रुखाखोकीबाट हुने मृत्युदरभन्दा धेरै हो। विश्वभरि मौसमी रुघाबाट पीडित झन्डै ०.१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ।

तर कति व्यक्ति सङ्क्रमित भएका छन्, त्यसको तथ्याङ्क उपलब्ध नभएसम्म कोभिड–१९ को मृत्युदर यही हो भनेर निक्र्योल गर्न सकिँदैन। हालसम्म विश्वमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिहरुको संख्या हेर्दा संक्रमितमध्ये ज्यान जानेहरुको दर ६ प्रतिशतभन्दा बढी छ।

महामारीको सङ्क्रमणदर गणना गर्न त्यति सहज छैन। फरक उमेर समूहका व्यक्तिमा फरक मृत्युदर देखिएको छ। इम्पीरीअल कलेज लन्डनको अनुमानअनुसार ८० वर्षभन्दा माथिका कोभिड–१९ बिरामीको मृत्युदर औसतभन्दा १० गुना बढी र ४० वर्षमुनिका बिरामीमा धेरै कम हुन्छ।

चीनमा ४४,००० बिरामीको अभिलेखको अध्ययन गर्दा मधुमेह, उच्च रक्तचाप वा मुटु वा फोक्सोको समस्या भएका बिरामीको कोरोनाभाइरसका कारण मृत्यु हुने सम्भावना कम्तीमा पाँचगुना बढी पाइएको छ।

के कोभिड–१९ को उपचार छ ?

अहिलेसम्म कोरोनाभाइरसका कारण लाग्ने रोग कोभिड–१९ को उपचार गर्न वा उक्त भाइरस हुन नदिने कुनै औषधि वा खोप बनेको छैन। अन्य जीवाणुको उपचारका लागि बनाइएका एन्टीबायोटिकले भाइरसलाई मार्न सक्दैनन्।

कोभिड–१९ हुँदा देखिने लक्षणहरूको उपचार हुन्छ। अधिकांश मानिसमा तिनको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर बिस्तारै निको हुन थाल्छ। अहिले कोरोनाभाइरसविरुद्ध खोप बनाउन तथा परीक्षण गर्न विभिन्न देशका वैज्ञानिकहरूले काम गरिरहेका छन्। तर, हालसम्म प्रमाणिक सफलता हात परेको पुष्टि भएको छैन।

कोरोनाबाट कसरी सुरक्षित हुने ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट जोगिन सबैभन्दा महत्त्वपूर्ण र आधारभूत उपाय भनेको सरसफाइ नै हो। नियमित रूपमा साबुनपानीले हात धुनुहोस् वा गुणस्तरीय स्यानिटाइजर दल्नुहोस्। यसो गर्दा हातमा भएका भाइरसहरू मर्छन्।

नाक, मुख र आँखा नछुनुहोस्। किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ। खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिशूले नाक र मुख छोप्नुहोस्। अथवा हात उचालेर कुहिनोले ढाक्नुहोस्। त्यसो गर्दा भाइरस फैलिन पाउँदैन।

दूषित रुमाल र टिशू सुरक्षित रूपमा तुरुन्त फाल्नुहोस्। त्यसो गर्दा भाइरसयुक्त छिटाबाट अरू मानिसलाई जोखिम हुँदैन। घरायसी सरसफाइमा जोड दिनुस्। बजारबाट सामान किनेपछि हात राम्रोसँग हुनुहोस्। सामान ल्याएका प्लाष्टिक र कार्टुन सुरक्षित डिस्पोज गर्नुहोस्।

सामाजिक दूरी कति राख्ने ?

एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुहोस्। त्यसो गर्दा एक व्यक्तिमा भएका भाइरस अर्कोमा सजिलै पुग्न सक्दैनन्। भीडभाडमा नजानुहोस्। सकेसम्म घरमै बस्नुहोस्। त्यसो गर्दा भाइरस फैलिने सम्भावना कम हुन्छ।

बाहिर जाँदा वा अरू व्यक्तिलाई भेट्दा हात नमिलाउनुहोस्। नमस्कार गरेर वा हात हल्लाएर पनि अभिवादन गर्न सकिन्छ। कोरोनाभाइरसको संक्रमणबाट बच्न कम्तिमा २ मिटरको सामाजिक दूरी आवश्यक ठानिएको छ। सामाजिक दूरीका पूरापूर ध्यान दिनुपर्छ।

के मास्क र पन्जा उपयोगी छन् ?

सामान्य मास्क धेरै खुकुला हुन्छन् र तिनले आँखा छोप्न पनि मिल्दैन। अनि त्यस्ता मास्क लामो समयसम्म लाउन मिल्दैन। मास्कले सङ्क्रमण हुन नदिने सुनिश्चित नगरे पनि सङ्क्रमित व्यक्तिले लगाउँदा मास्कले खोक्दा वा हाछ्युँ गर्दा उत्सर्जन हुने छिटा धेरै मात्रामा रोकिदिन्छ।

मास्क र पन्जाले थोरै मात्रामा मात्र सुरक्षा गर्छन्। त्यसले विज्ञहरूले बारम्बार हात धुन सुझाव दिएका छन्। धेरै मानिसमा सङ्क्रमण भए पनि लक्षण नदेखिने हुँदा आफ्नो र अरूको सुरक्षाका लागि मास्क लगाउनु उपयुक्त नै हुन्छ। तर विश्व स्वास्थ्य सङ्गठनले पन्जाबाट लगाए पनि अनुहार छुँदा भाइरस सर्ने सम्भावना भएकाले नियमित साबुनपानीले हात धुनु बढी सुरक्षित हुने बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्