कोरोना राेक्न सरकारका ६ सुत्र

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी ९त्० फर्मुलाको रणनीति अघि सारेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकास क्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिँदै अहिले मुख्य ६ वटा टीको फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेको जानकारी दिए।

नेपालमा हालसम्म १४ जना कोरोना भाइरसको संक्रमण देखिइसकेको अवस्थामा सरकारले पनि रोकथामका लागि सो रणनीति अख्तियार गरेको हो। मन्त्री ढकालका अनुसार पहिलो टी फर्मुलामा ट्राभल रेष्ट्रिक्सन, दोस्रोमा टेष्टिङ्ग, तेस्रोमा टे«सिङ्ग, चौंथोमा ट्रयाकिङ्ग, पाँचौंमा ट्रिटमेन्ट र छैटौंमा टुगेदर रहेका छन्।

मन्त्री ढकालले यस संक्रमणको नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने पीपीई, परीक्षणका लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा नै अभाव रहेको बताउँदै भने, ‘हामीले देशमा आफूसँग भएको साधन श्रोतको अधिकतम उपयोग गरौँ। दुरुपयोग नगरौँ। आफूसँग भएका सामानको समुचित प्रयोग गरौँ भन्ने हाम्रो अनुरोध छ। यो चुनौतिको सामना हामी सबै एकजुट भई काम गरेर मात्र सम्भव छ। देशलाई महामारीबाट बचाउ। बाँकी बहस पछि गरौँला। महामारीको यो लडाइँमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ।’

कोरोना संक्रमण विरुद्धको यो लडाइँमा चिकित्सक र स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंशा गर्दै मन्त्री ढकालले उनीहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति राज्यले गर्ने प्रतिबद्धता जनाए। यस्ता छन् सरकारका सिक्स ‘टी’ फर्मुला।

फस्ट टीः ट्राभल रेष्ट्रिक्सन

यसको लागि आवतजावत बन्द गर्ने नै हो। जसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ। यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस्। हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन्। यो प्रभावकारी पनि सावित भएको छ। यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ। तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ। यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु।

सेकेण्ड टी : टेष्टिङ्ग

यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकताअनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ। कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ। हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो।

थर्ड टी : ट्रेसिङ्ग

ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ती संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो, त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो। हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पूरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ। यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ।

फोर्थ टी : ट्रयाकिङ्ग

सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो। यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, सिसिएमसी तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ। यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ। यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ। त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु।

फिप्थ टी : ट्रिटमेन्ट

हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ। जसमध्ये एक जना निको भएर घर फर्किसक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ। उहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ। कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ।

कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ। कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन् र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ। यस महामारीको घडीमा के सरकारी के गैरसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नुपर्ने हुन्छ। त्यसैले नेपालभरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ। यसमा सबैको सहयोगको अपेक्षा गर्दछु।

सिक्स टीः टुगेदर

कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ। उच्च स्तरीय समिति, सीसीएमसीदेखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ। यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन्। यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैरसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायत सबै मिलेर मात्र यो लडाइँमा हामीले विजय हासिल गर्न सक्नेछौँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्