राजेन्द्र न्यौपाने/ गोरखा, ३० चैत। गोरखा निर्वाचन क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले कुनै पनि नागरिक कोरोना भाइरसबाट संक्रमित हुन नहुने बताएका छन्। आज सांसद अधिकारीले गोरखा जिल्ला अस्पतालमा विरामीको उपचार प्रक्रियाका बारेमा जानकारी लिएपछि डाक्टरहरु समक्ष यस्तो अभिव्यक्ति दिएका हुन्।
गोरखा अस्पतालले सिङ्गो जिल्लाको नेतृत्व गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो। केन्द्र, प्रदेश र स्थानीय तहका सरकार मिलेर अस्पतालको विकास गर्नुको विकल्प नभएको उनले बताए। भर्खरै केन्द्रबाट आएको एक करोडको काम छिटो गर्न सुझाव दिँदै आवश्यक परे थप बजेट निकासा गर्न आफूले प्रस्ताव गर्ने उनले बताए।
यसैबीच सांसद अधिकारीले प्रमूख जिल्ला अधिकारी, प्रहरी प्रमूखसँग भेट गरी लकडाउनलाई व्यवस्थित गरी रोग भित्रन नदिन सबै संयन्त्र परिचालन गर्न सुझाव दिएका छन्। यतिबेला जिवन मुख्य कुरा हो भन्दै नागरिकहरुको जीवन बचाउन कडाइका साथ लाग्नुपर्ने उनले बताए।
प्रमूख जिल्ला अधिकारी सुरेन्द्र पौडलले गाउँका नागरिकहरुले गाउँमा नयाँ मानिस आउने वित्तिकै सुरक्षा प्रशासनलाई खबर गरी सहयोग गरेको, गाउँमा नयाँ मान्छे भित्रिन नदिन थुनछेक समेत गरेर सहयोग पुर्याएको बताएका थिए। सामूहिक क्वारेन्टाइनमा बसेका मानिसहरुको स्वाव लिएर काठमाण्डौ पठाइएको पौडेलले बताएका छन्।
थर्मलगन थर्मो्मिटर प्राप्त गर्न समस्या भएको उहँको भनाइ थियो। सांसद अधिकारीले घरपरिवार मिलेर गर्ने खेतीपातीका लागि प्रोत्साहन गर्न समेत सुझाव दिएका थिए। अधिकारीले गोरखा अस्पतालमा दुई हजार थान मास्क, १७ लिटर सेनिटाइजर र ७ सय थान ग्लोव समेत प्रदान गरेका थिए।



लोकपाटी न्यूज

