कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइदिने तयारी

buspark jhapa
फाइल तस्बिर
लोकपाटी न्यूज

झापा, २९ चैत। कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइने भएको छ। जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्‍याइने भएको हो।

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पुर्‍याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए।

उनका अनुसार झापामा करीब ३ सय ५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन्।लकडाउनका कारण विद्यार्थी समस्यामा रहेकाले उनीहरुलाई आआफ्नो घरमा पुर्‍याउने समितिको निर्णय भएको उनले बताए।

त्यस्तै, झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी थालिएको छ। राहत वितरणमा गाउँपालिका र नगरपालिकाले टोल विकास संस्थालाई परिचालन गर्ने, राहत पाउने परिवार छनोटका लागि वडास्तरीय सर्वदलीय सर्वपक्षीय संयन्त्र गठन गरेर वास्तविक विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने व्यवस्था गर्न प्रदेश सरकारसँगको सहकार्यमा मापदण्ड बनाउने तयारी थालिएको संयोजक पोर्तेल बताउँछन्।

जिल्लामा किसानलाई आवश्यक सिँचाइ प्रयोजनका लागि डिजेल, खाद्यान्न उद्योग तत्काल सञ्चालन गर्ने आपूर्ति सहज बनाउने, इन्धन आपूर्तिको व्यवस्था मिलाउने, सीमा क्षेत्रमा आवतजात रोक्न स्थानीय नागरिकहरुको सहभागितामा नागरिकस्तरको नागरिक समूह गठन गर्ने लगायतका काम भइरहेको छ।

झापाका १५ वटा स्थानीय तहले स्थापना गरेको राहत कोषमा हालसम्म रू पाँच करोड २२ लाखभन्दा बढी रकम जम्मा भइसकेको संयोजक पोर्तेलले जानकारी दिए। उनका अनुसार स्थानीय तहले ३३ हजार विपन्न परिवारलाई सात लाख केजी चामल वितरण गरिसकेको छ । साथै, दाल, नून, खानेतेल, साबुनलगायत सामग्री समेत वितरण गरिएको छ।झापामा ७०० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ भने नौ जनाको कोरोना स्वाब परीक्षण गरिएको छ। जसमध्ये आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्