काठमाडौं, २८ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म ३५ सय २४ जनाको कोरोना भाइरस कोभिड-१९ को आशंकामा नमूना परीक्षण गरिएको जनाएको छ। गएको २४ घण्टामा ६ सय ३० वटा नमूना टेष्ट भएका छन्।
जसमध्य काठमाडौंमा ४ सय १, काठमाडौं उपत्यका बाहिर २ सय २९ वटा नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत डा.विकास देवकोटाले जनकारी दिए। डा. देवकोटाका अनुसार अहिले देशभरी ८ सयभन्दा बढि नमूना परीक्षणका क्रममा रहेका छन्।
स्वास्थ्य परीक्षणको दायरा बढाएसँगै देशभरी ८ हजार ६ सय ६० जनालाई क्वारेन्टाईनमा राखिएको छ भने १ सय २५ जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ। जसमध्य १ सय १० जना उपत्यका बाहिरका रहेका छन् भने १५ जना उपत्यकाभित्र रहेका छन्। प्रत्येक प्रदेशमा र्यापिड डाइनोस्टिक टेष्ट बितरण गरिएको भन्दै तिनीहरुको नतिजा पनि छिट्टै आउने डा. देवकोटाले बताए।
र्यापिड टेष्ट अन्तर्गत कैलालीमा ३ सय २९ जना, कञ्चनपुरमा १ सय ३७ जना, कपिलवस्तुमा २१ जना, बागलुङमा १९ जनाको परीक्षण रिपोट नेगेटिभ आएको डा. देवकोटाले बताए। विभिन्न प्रदेश र जिल्लाको नमूना परीक्षणको नतिजा पनि आउने क्रम जारी रहेको उनले बताए। आजसम्म नेपालमा ९ जनामा मात्र नमूना पोजेटिभ देखिएको भन्दै उनले एक जना निको भएर घर फर्किका र अन्य ८ को उपचार भइरहेको बताए।



लोकपाटी न्यूज

