अस्मिना पाण्डे/ तिलोत्तमा, २८ चैत। तिलोत्तमा नगरपालिकाले कोरोना महामारीविरुद्धको पूर्व तयारीलाई अझैं प्रभावकारी बनाउन लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउने निर्णय गर्दै यसको पालना गर्न तथा गराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ। बिहीबार भिडियो कन्फरेन्समार्फत् बसेको कार्यपालिकाको ८२ औं बैठकले हालसम्म भएका कोरोना पूर्वतयारीका कामको समीक्षा गर्दै आगामी दिनको कार्ययोजना बनाएको हो।
कोरोनाको कारण भिडियो कन्फरेन्सबाट गरिएको बैठकमा अधिकांश कार्यपालिका सदस्यहरु सहभागी रहेको प्रेस सल्लाहकार बीपी गौतमले जानकारी दिए। नगर प्रमूख बासुदेव घिमिरे, उपप्रमूख जागेश्वरी चौधरी, प्रवक्ता सुरेन्द्र श्री, प्रमूख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा नगरपालिका कार्यालयमा रहेका थिए भने अन्य कार्यपालिका सदस्यहरु आआफ्नो वडा कार्यालय तथा घरबाटैं भिडियो कन्फरेन्स बैठकमा सहभागी भएका थिए।
२८ सदस्यीय तिलोत्तमा नगरकार्यपालिकाको बैठक व्यक्तिबीचको दूरी कायम राख्ने सन्देशका लागि समेत भिडियो कन्फरेन्सबाट गरिएको प्रेस सल्लाहकार गौतमले बताए। बैठकमा नगर प्रमूख बासुदेव घिमिरेले कोरोना पूर्वतयारीका सन्दर्भमा हालसम्म भएका कामहरुको बारेमा जानकारी गराएका थिए भने उपप्रमूख जागेश्वरी चौधरीले राहत वितरणको बारेमा जानकारी गराएका थिए। बैठकले लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रहरीको क्रियाशीलता बढाउने, टोल विकास संस्थालाई परिचालन गर्ने लगायतका निर्णय गरेको छ।
यस्तै कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कामहरु गर्न संकट व्यवस्थापन केन्द्र गठन गरेको छ। नगर प्रमूखको अध्यक्षतामा गठित सदस्यहरुमा उपप्रमूख, प्रमूख प्रशासकीय अधिकृत, नेकपा तिलोत्तमा अध्यक्ष, नेपाली कांग्रेसका नगर सभापति, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख, प्रवक्ता, विपद् व्यवस्थापन समिति संयोजक, स्वास्थ्य शाखा संयोजक, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष, सुरक्षा निकायका प्रमूख तथा विपद् व्यवस्थापन समितिका सदस्य सचिव रहेका छन्।



लोकपाटी न्यूज

