काठमाडौं, २८ चैत। कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व विज्ञान मन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय विज्ञहरुको समिति बनाएर अध्ययन–अनुसन्धान थालेको छ। उक्त समितिमा विषय विज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।
पहिलोमा नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा संयोजक रहेको शिक्षण विधि तथा विकल्प उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने जिम्मा दिइएको उनले बताए।
यस्तै, दोस्रोमा कोरोनासम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमितिमा नास्टका प्राज्ञ दिनेशराज भुजू छन्। यो उपसमितिले जनमानसमा दिइने कोभिड–१९ सम्बन्धी सूचना तथा पूर्वतयारीसम्बन्धमा प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ। तेस्रोमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी नेतृत्वको ‘डाइग्नोस्टिक एण्ड रेस्पोन्स’उपसमितिले कोरोना परीक्षण, र्यापिड टेस्ट, डाइग्नोस्टिक सेवा, प्रयोगशालाको सुविधा, परीक्षणको गुणस्तरलगायत विषयमा अध्ययन प्रतिवेदन तयार पार्नेछ।
चौथोमा नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको नेतृत्वमा अनुसन्धान उपसमिति बनाइएको छकोरोनासम्बन्धी वैज्ञानिक अनुसन्धान, तथ्यांक, प्रोटोकललगायत विषयमा अनुसन्धान गर्ने । यसैगरि,पाँचौंमा युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको नेतृत्वमा प्रविधि विकास तथा नवप्रवर्तन उपसमिति छ। यसले क्वारेन्टाइन सेवा, पीपीई डिजाइन र उत्पादन, सेनिटाइजर र साबुनको उत्पादन, मास्क, औषधि, एप्स निर्माण, रोबटिक्सजस्ता विषयमा अनुसन्धान प्रतिवेदन तयार पार्ने जनाइएको छ।
छैटौं उपसमितिमा मन्त्रालयका विज्ञान सचिव सञ्जय शर्माको संयोजकत्वमा नीति तथा वित्त उपसिमिति बनाइएको छ। यसले बजेट, नीतिगत सुधार, संस्थाहरूबीचको समन्वय, अनुसन्धानमा वैदेशिक संलग्नता र प्राथमिकता निर्धारणसम्बन्धी काम गर्नेछ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको सक्रियतामा गठित समितिले एक सातादेखि ‘स्काइप’मा नियमित भिडियो संवाद गरिरहेको पनि मन्त्रीका स्वकीय सचिव पुरन के सीले बताए। उपसमितिहरूले मन्त्रालयलाई तत्काल र भविष्यमा गर्नुपर्ने कामबारे सुझाव दिने मन्त्रीका स्वकीय सचिव पुरन के सीले जानकारी दिए ।



लोकपाटी न्यूज

