काम नभएपछि मजदुरहरु भाग्न थाले

लोकपाटी न्यूज

काठमाडौं, २८ चैत। इँटा भट्टामा काम हुन छाडेपछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा भाग्न थालेका छन्। सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता चलिरहँदा कामविहीन बस्नुपरेका मजदुरहरु भाग्न थालेका हुन्। जिल्लामा १८ इँटा भट्टा छन् । ती भट्टामा सात हजारभन्दा बढी मजदुर काम गर्दछन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाका अनुसार लकडाउन सुरु भएसँगै धेरै मजदुर पठाइएको भए पनि अझै २ हजार ६ सय हाराहारी मजदुर भट्टामा छन्।

पूर्वी चितवनको खैरहनीमा ९, राप्तीमा ७ र रत्ननगरमा २ वटा इँटा भट्टा रहेका छन् । तीमध्ये केही आंशिक चलेको भए पनि अधिकांश बन्द छन्। सापकोटाका अनुसार खैरहनीका भट्टामा २ हजार, राप्तीमा २ सय र रत्ननगरमा २ सय मजदुर भट्टामै छन्। काम नहुने भट्टामा बस्ने मजदुर दिनभर त्यसै बस्नुपरेको छ । सापकोटाका अनुसार ती मजदुरलाई काम नभए पनि उद्योगीले खाने र बस्ने व्यवस्था गरिरहेका छन् ।
इँटा भट्टामा अस्थायी बसोबास हुन्छ । त्यहीँ बस्नुपर्ने हुन्छ । अधिकांश मजदुरले कामभन्दा अघिनै पैसा लगिसकेका हुन्छन् । यस वर्ष पानी र अहिलेको सङ्क्रमणका कारण काम हुन सकेको छैन । साहुसँग लिनुको सट्टामा उल्टो तिर्नुपर्ने भएपछि मजदुर भाग्न थालेका हुन्।

एउटै भट्टामा ४ सय हाराहारी मजदुर हुन्छन्। त्यहाँ रहेकामध्ये सर्लाही र रौतहटका मजदुर भाग्ने गरेका हुन् । भट्टामा रहेका रोल्पा र दाङका मजदुर भागेका छैनन्। रातिको समयमा भट्टा मालिक वरिपरि नभएको मौका पारेर उनीहरु भाग्ने गरेका हुन् । घरमा गए परिवारसँग बस्न पाउने र घरको काम हुने भएपछि मजदुर भागेका हुन् । दैनिक रातिको समयमा मजदुर भागिरहेको सापकोटाले जानकारी दिए। भट्टा नचलेपछि खान र बस्न पाए पनि ठेक्कामा काम गराइने हुदाँ पैसा पाउँदैनन्। बुधबार साँझ राप्ती नगरपालिका–९ को मनकामना इँटा उद्योगबाट भाग्दै गरेका ३० मजदुरलाई प्र्रहरीले फर्काएको छ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषि मगरका अनुसार उनीहरुलाई सिमलतालबाट फर्काइएको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्र्रसाद भट्टराईले मजदुरलाई खाने र बस्ने प्रबन्ध उद्योगले गर्नुपर्ने बताए। भाग्नबाट रोक्न प्रहरीले सहयोग गर्ने उनले बताए। कामविहीन ठूलो सङ्ख्याका मजदुर बस्दा स्थानीयवासीलाई पनि समस्या भएको जनाएका छन्। उद्योगीहरुले कामविहीन मजदुर आफैँले पाल्दासमेत भाग्ने गरेको र आरोप खेप्नुपरेको भन्दै गुनासो गरेका छन्। -रासस।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्