कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ मा देखिएन कोरोना

corona test
लोकपाटी न्यूज

पोखरा, २७ चैत। कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जनामा कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो। गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार उनीहरू कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएपछि १४ दिनपछि घर पठाइएको हो।

क्वारेन्टाइनमा बसेकाहरू कतार, भारत र बंगलादेश लगायतका देशबाट आएकाहरू थिए। उनीहरूमध्ये पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्र १६ र रूपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जनालाई राखिएको थियो। अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरूमा पनि हालसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन।

१४ दिनपछि घर पठाइएकाहरूलाई पनि थप एक साता सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको डा. शर्माले बताए। अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन्। पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेशमा कुल दुई सय ५१ वटा नमुना संकलन भएको छ, जसमध्ये एक सय ३५ वटा नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको छ। दुई वटामा पोजिटिभ देखिएको छ भने एक सय २२ वटाको रिपोर्ट आउन बाँकी छ। यस्तै, हेल्लो डाक्टर १०९२ कार्यक्रममा पाँच सय दुईजनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्