प्रदेश सरकारसँग समन्वय गर्ने मन्त्रीसँग स्वास्थ्य मन्त्रीको छलफल

minister pic
लोकपाटी न्यूज

काठमाडौं, २६ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर १ को सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनु भएकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेशको सरकारसँग समन्वयको जिम्मेवारी पाएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरसँग मन्त्री ढकालले छलफल गरेका हुन्।

छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा चालिरहेको कदम र गरिरहेको कामको विषयमा जानकारी गराए। मन्त्री ढकालले प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने काम अन्तिम अवस्थामा पुगेको बताए। हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुँदैछ।

सम्बन्धित प्रदेशको समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूले स्वास्थ्य सामाग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा आफ्नो विचार राखेका थिए। केहीदिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहनु भएका मन्त्रीहरूलाइ प्रदेश सरकारसँग समन्व गर्ने जिम्मेवारी तोकेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्