रमेश भुसाल, सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न घरधुरीलाई वडामार्फत पहिलो चरणको राहत बितरण कार्यक्रम मंगलबारदेखि सुरु गरिएको छ।
राहत बितरणका लागि प्रत्येक वडामा बनेको वडास्तरीय समितिमार्फत् वितरण गर्ने गरी राहत बितरण कार्यक्रमलाई अगाडि वढाइएको छ। मंगलबारदेखि सुरु गरिएको राहत बितरण कार्यक्रममा सुनवल नगरपालिकाका १३ वटै वडाबाट १९१० घरधुरी राहतका लागि छनोट भई आएको नगरपालिकाका समाजिक विकास समितिका संयोजक तथा वडा नम्वर २ का अध्यक्ष राजेन्द्र यादवले जानकारी दिए।
कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सुनवल नगरपालिकाले सुरुदेखि नै लकडाउनलाई व्यवस्थित पार्दै यस अवधिमा दैनिक मजदूरी गरेर खाने मजदुर गरीबलाई राहत बितरणका लागि बनेको वडास्तरीय समितिमार्फत राहत बितरण गर्न थालिएको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले जानकारी दिए।
नगरभित्रका मजदुर गरेर खाने गरीव बिपन्नहरुलाई वडामार्फत् राहत बितरण गर्दै गर्दा सुनवल नगरपालिकालाई सहयोग गर्ने विभिन्न संघसस्था उद्योगी व्यवसायी सुरक्षाकर्मी, पत्रकार सबैलाई धन्यवाद दिँदै १९१० घरधुरीमा वडामार्फत् राहत बितरणको पहिलो चरणको काम सुरुवात भएको नगर प्रमुख भीम वहादुर थापाले जानकारी दिए।
नेपाल सरकारको मापदण्डअनुसार नै नगरपालिकाले राहत बितरण गर्दा परिवार संख्याका आधारमा २ किसिमबाट बितरण कार्यक्रमलाई अगाडि बढाइएको नगर प्रमुख थापाले बताए। जसअनुसार परिवार संख्या २ जनाभन्दा बढी भएका परिवारलाई पुरै राहत पाउनेछन्। यसरी पुरै राहत पाउनेमा १ हजार ५ सय ३३ घरधुरी सिफारिस गरिएको छ। उनीहरुले सोना मन्सुली चामल २५ केजी, दाल ३ केजी, खाने तेल २ लिटर, साबुन नुहाउने र लुगा धुने २–२ वटा, चिनी २ केजी, नुन २ केजी र सोयाबिन ४ सय ग्राम राहत पाउनेछन्।
यसैगरि २ जनासम्म भएको परिवारलाई आधा राहत उपलब्ध गराइएको छ। यसरी आधा राहात पाउने घरधुरी संख्या ३ सय ७७ रहेका छन्। उनीहरुले सोना मन्सुली चामल १२.५ केजी, दाल १.५ केजी, खाने तेल १ लिटर, साबुन नुहाउने र लुगा धुने १–१ वटा, चिनी १ केजी, नुुन १ केजी र सोयाबिन २ सय ग्राम राहत पाउनेछन्।
वडा नं. १ मा राहतका लागि १ सय ९६ घरधुरी सिफारिस भएका छन्। जसमा १ सय ५६ घरधुरीले पुरैै राहत पाउने छन् भने ४० घरधुरीले आधा राहत पाउने छन्। यसैगरि वडा नं. २ मा जम्मा २ सय १५ घरधुरीमध्ये पुरै राहत पाउने घरधुरी संख्या १ सय ७५ छ भने आधा राहत पाउने घरधुरी संख्या ४० रहेको छ। वडा नं. ३ मा भने पुरै राहत पाउने ५८ र आधा पाउने १८ गरी जम्मा ७६ घरधुरी सिफारिस गरिएको छ। वडा नं. ४ मा १ सय ८९ जम्मा घरधुरी संख्यामध्ये पुरै राहत पाउने १ सय ५६ र आधा पाउने ३३ घरधुरी छन्।
यसैगरि वडा नं. ५ मा १ सय २५ जम्मा घरधुरी संख्यामध्ये १ सय २ ले पुरै र २३ ले आधा राहत पाउने छ। वडा नं. ६ मा पुरै राहत पाउने ६२ घरधुरी र आधा पाउने ५४ गरी जम्मा १ सय १६ घरधुरी सिफारिस गरिएको छ। वडा नं. ७ मा १ सय १७ जम्मा घरधुरीमध्ये ८६ ले पुरै राहत पाउने र ३१ ल्ो आधा राहत पाउने छन्। यसैगरि वडा नं. ८ मा ४७ घरधुरीले पुरै राहत पाउने छन् भने ८ जनाले आधा राहत पाउनेछन्। वडा नं. ९ मा भने २ सय ५४ घरधुरी पुरै राहत पाउनेमा सिफारिस भएका छन् भने २७ घरधुरीले आधा राहत पाउने छन्।
यसैगरि वडा नं. १० मा जम्मा १ सय ५२ घरधुरीमध्ये १ सय २० पुरै राहत र ३२ आधा राहत पाउने घरधुरीमा सिफारिस भएका छन्। वडा नं. ११ मा भने ८६ घरधुरीले पुरै राहत पाउने छ भने २० घरधुरीले आधा राहत पाउनेछन्। वडा नं. १२ मा पुरै राहत पाउने घरधुरी संख्या १ सय ३३ र आधा राहत पाउने घरधुरी संख्या २२ छ भने वडा नं १३ मा पुरै राहत पाउने घरधुरी संख्या ९८ र आधा राहत पाउने घरधुरी संख्या २९ रहेको छ।



लोकपाटी न्यूज
