निर्मल पौडेल/ पर्वत,२५ चैत। कुश्मा नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा वडा नम्बर नम्वर ७ स्थित भड्खोरे सामुदायिक वन उपभोक्ता समूहले आर्थिक सहयोग गरेको छ। विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को नियन्त्रण तथा व्यवस्थापनको राहत कोषमा वन समूहले सहयोग गरेको हो।
सामुदायिक वनहरुमा नमूना वनको रुपमा आफूलाई स्थापित गरेको भड्खोरे सामुदायिक वन उपभोक्ता समूहले यो विपत्तिको बेला समस्यामा परेकाहरुलाई केही मात्रमा भएपनि राहत होला भन्ने हेतुले आफ्नो कोषमा रहेको रु २० हजार व्यवस्थापन कोषलाई राहत प्रदान गरी सामाजिक दायित्व वहन गरेको हो।
उक्त रकमको चेक कुश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीलाई वन उपभोक्ता समितीका अध्यक्ष तेज गिरी कान्छाले हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै अध्यक्ष गिरीले लकडाउनको बेला कोही भोकै बस्न नपरोस्, रोगले भन्दा पनि भोकले कसैलाई नलैजाओस् भनेर थोरै भएपनि वन समूहको तर्फबाट सहयोग गरेको बताए।
उनले भने, ‘कोषमा धेरै रकम थिएन तर कोरोना संक्रमणको यो विकराल अवस्थामा देश लकडाउनमा छ, यस्तो अवस्थामा ज्याला मजदुरी गरी जिवन गुजारा गर्ने साझ बिहान चल्हो बाल्न धौ धौ हुने निम्न वर्गीय तथा बिपन्न परिवारमा विभिन्न समस्या आउन सक्छन्,त्यस्तो परिवारलाई केही मात्रामा भएपनी सहयोग गरौँ।’ विपतको समयमा समस्यामा परेकाहरुलाई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न गिरीले आग्रह समेत गरे।
चेक बुझ्दै कुश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा वन समूहको तर्फबाट सहयोग गर्ने भड्खोरे वन उपभोक्ता समूह पहिलो भएको भन्दै वन समूहले देखाएको सहायत निकै सह्ररानिय रहेको बताए। वन उपभोक्ता समूहलाई नगरको तर्फबाट धन्यवाद प्रकट गर्दै जोशीले उपलब्ध रकम वैधानिक रुपबाट वास्तविक पीडितसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
रकम हस्तान्तरण कार्यक्रममा वन समूहका कोषाध्यक्ष सुवास श्रेष्ठ, कुश्मा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल,११ नम्बर वडाका वडाध्यक्ष शिव शर्मा पौडेललगातको उपस्थिती रहेको थियो। कुश्मा नगरपालिकाले मंगलबारदेखि २ हजार ७ सय ६२ जनालाई राहत बितरण गर्ने भएको छ। नगरपालिकाले लकडाउन शुरु भएपछि रु ५० लाख बराबरको विपत व्यवस्थापन कोष स्थापना गरेको थियो।



लोकपाटी न्यूज
