कर्णाली प्रदेशद्वारा कोरोनाबाट बच्न उच्च सर्तकता

pic 2
लोकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ जुम्ला, २४ चैत। सुदुरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले उच्च सर्तकता अपनाउन विभिन्न तयारी थालेको छ। कर्णालीमा भारत र तेस्रो मुलुकबाट आउनेको संख्या बढिरहेकोे समयमा कसरी सुरक्षा अपनाउने भन्ने विषयमा स्वास्थ्य क्षेत्र र सरोकारवाला निकायहरुलाई बढि सक्रिए बनाउन थालेको हो।

कर्णाली प्रदेश सरकारले तयार गरेको रणनीति अनुसार प्रदेशका तीन अस्पताल मध्य सबैभन्दा बढि स्रोत साधन र जनशक्ति भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयारी गरिएको छ। कोरोना भाइरसविरुद्ध लड्न रोकथाम र उपचारलाई बलियो बनाउने बिषयमा प्रतिष्ठानमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला पुगेर व्यापक छलफलसहित समिक्षा गरेका छन्।

मन्त्री भण्डारीको अध्यक्षतामा आइतबार कर्णाली प्रतिष्ठान जुम्लामा प्रदेश सरकारले तोकेको उच्च स्तरीय अस्पताल परिचालन बैठकमा जुम्लाका प्रदेशसभा सांसद पदम रोकाया, दिनबन्धु श्रेष्ठ, पूर्व राज्यमन्त्री बलबहादुर महत, जिल्ला समन्वय प्रमूख लालबहादुर सार्की, उपप्रमूख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, प्रमूख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले सहित पदाधिकारी र उच्च स्तरको व्यक्तिहरुले कोरोनाविरुद्धको लडाई जित्न सक्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले प्रदेश सरकारले तत्काल कोरोना विरुद्धको रोकथामको उपकरण र अत्यावश्यक सामग्रीका लागि प्रदेश सरकारले प्रतिष्ठानलाई रु एक करोड प्रदान गरेको र अन्य सामाजिक विकास मन्त्रालयले आवश्यकता अनुसार सहयोग गर्ने जानकारी दिए। उनले जिल्लाको उच्च स्तरको जनप्रतिनिधि सहितको टिमलाई जोखिम अवस्थामा गरिने तयारीका लागि आ-आफ्नो समयन्त्रबाट अहिलेनै तयारी गर्न निर्देशन दिए। मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय क्षतिलाई हेर्दा भोली समस्या भयभह हुनु भन्दा रोकथामलाई प्रथामिकता दिने र कर्णाली प्रतिष्ठानलाई उपचारको ठूलो भरोषाको केन्द्र बनाउने योजना र पूर्वाधारमा लाग्न सबै जुट्नुपर्नेमा जोड दिए।

पूर्वमन्त्री बलबहादुर महत र प्रदेश लेखा समिति सदस्य तथा सांसद दिनबन्धु श्रेष्ठले चाडै जनशक्ति भएको कर्णाली प्रतिष्ठानमा कोरोना परीक्षण केन्द्र हुनुपर्ने बताए। जिल्ला समन्वय समितिका प्रमूख लालबहादुर सार्कीले भेन्टिलेटर र स्क्यान थर्मोमिटर अहिलेसम्म नआएको हँुदा समस्या भएकाले तत्काल झिकाउन प्रस्ताव गरे। चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरपालिकाले रु एक करोडको कोरोना बिपत कोष स्थापना गरिएको जानकारी दिए।

(कोभिड १९) कोरोना भाइरसको रोकथामको लागि गरेका काम र तयारीको बिषयमा जानकारी गरिएको छ। प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले अहिले १२० वार्ड आईसुलेसन, १० वटा आईसियू र ५ वटा भेन्टिलेटर तयार अवस्थामा रहेको जानकारी दिए। उनले एक महिना अघिदेखि जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स ग्रुप, यस्तै भिन्नै ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेक्स तथा क्वारेन्टाईन अनुगमन देखि विभिन्न कामहरु भइरहेका छन् ।

बैठकमा उपस्थित प्रतिष्ठानका शिक्षाध्यक्ष तथा विशेषज्ञ डाक्टर निरेश थापाले ३ चरणमा अगाडि बढ्न सुझाब दिए। उनले पहिलो ट्रयास गरौं (बाहिरवाट आएका व्यक्ति खोजौ) दोस्रो जाँच गरौं अन्तिममा उपचार भएकाले खोज्ने कार्यलाई कडाई गरेर अघि बढेमा कोरोनलाई जित्न सक्ने बताए। तर यो योजनामा आवश्यक पूर्वाधार, जनशक्ति उचित परिचालन गर्नुपर्नेमा जोड दिए। उनले आवश्यकता परे प्रतिष्ठानमा दुई सय बेड आईसोलनशन गर्न सकिने जानकारी दिए।

यसैगरी कर्णाली प्रतिष्ठानले आइतबार थप छ जनाको स्वाब परीक्षणका लागि सुर्खेत पठाएको जानकारी दिएको छ। यस अघि चार जनाको पठाएकोमा नेगेटिम आएको थियो। स्वाब प्रशस्तै संकलन गर्नुपर्ने अवस्था भएकाले प्रतिष्ठानमै स्वाब परिक्षण केन्द्रको माग राख्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्